newskoseli.Com

मन्त्रिपरिषदमै प्रधानमन्त्रीले दर्शाएको ‘माया–प्रेम’ काे कथा

फाइल तस्बिर

केही महिना यताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री ओली केही आक्रोशित भावमा पेस भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब…’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई ढाडस दिएर उनले भने– ‘यो आक्रोश मप्रतिको हो ।’

राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको राजीनामाले उनलाई निकै नै पोलेजस्तो बुझिन्थ्यो, उनकै शब्दबाट ।

प्रधानमन्त्रीले युवराजतिर हेरेर भने– ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल– सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो यो; तपाईंको केही दोष होइन । अरुतिरबाट नसकेपछि मलाई घेराबन्दी गर्न यस्तो गरियो; चिन्ता नगर्नोस्, तपाईंको आवश्यकता अहिले पनि राष्ट्रलाई छ ।’

त्यस क्रममा प्रधानमन्त्रीले तीन पटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहोर्‍याए । युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेरे र भने– ‘तपाईंहरूले पनि कुनै चिन्ता नलिई काम गर्नुपर्‍यो, मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निकै ठूलो हल्ला फिँजाइएको छ; तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला तर त्यस्तो कुनै चिन्ता नलिनोस्, आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नोस्; हल्ला गरिएजस्तो आजभोलिमै मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन, खालि भएका मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा निर्णय होला; योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्ने खालका हल्लाहरूमा सत्यता छैन ।’

प्रधानमन्त्रीले यति भनिसकेपछि बैठक बल्ल एजेन्डाहरूमा प्रवेश गर्‍यो । सो क्रममा पनि प्रधानमन्त्री ओली प्रतिक्रियात्मक रुपमा नै पेस भए । जस्तो कि, एजेन्डाभित्र एमसीसीको नियमावली पनि थियो । राजीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेन्डा टेबल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढे र भनिहाले– ‘पढ्दै नपढी मान्छेहरू विरोध गर्छन् ।’ एकछिन अड्किए र फेरि गुन्गुनाए– ‘के भनौं र ! यस्तो कुरा नबुझी पनि मान्छेहरू हल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौं ?’

आफ्ना प्रियपात्रहरुसँग टुट्न पुगेको सहकार्यका सम्बन्धमा प्रधानमन्त्रीले दर्शाएको ‘माया–प्रेम’ सम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर