newskoseli.Com

काजकिरिया भैसक्दा पनि आउँछन् कि भन्ने आशा बाँकी : बाढीपहिरोमा बेपत्ता ८२८, कहाँका कति ?

बाढीपहिरोले नेपालमा वर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ । बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ । बाढीले बगाएकाहरूमध्ये कतिपय बाढीमै बिलाएका छन्; पहिरोमा पुरिएकाहरूमध्ये कतिपय पहिराभित्रै हराएका छन् । यसले गर्दा परिवारका सदस्यलाई थप पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर काजकिरिया नै गरिसके पनि आई पो हाल्छन् कि भन्ने आशा भने मार्न छाड्दैनन् ।

२०६८ यता बाढीपहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी २०७१ मा २ सय ६९ जना बेपत्ता भएका थिए । २०७० मा १ सय ६४ र २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ, ८९ जना अझै बेपत्ता छन् ।

बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन्, २२ जनाको शव भेटिएको छ । यही वर्ष सिन्धुपाल्चोकका लिदी, बाह्रबिसे, भोटेकोसीलगायतका स्थानमा बाढीपहिरोले २४ जनालाई बेपत्ता बनाएको छ । सिन्धुपाल्चोकमा यही वर्ष ५६ जनाको मृत्यु भएको छ । संखुवासभाको सिलिचोङमा पहिरोमा परेका ११ जना बेपत्ता छन् ।

अछामको रामारोशनमा ९ जनालाई भेटिएको छैन । म्याग्दीमा ४, कालीकोटमा ६ र जाजरकोटमा ५ जना बेपत्ता छन् । काभ्रेपलाञ्चोक, सुनसरी, सिरहा, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, सल्यान, बझाङमा १–१ जना बेपत्ता छन् । यो वर्ष बेपत्ता भएकाहरू अझै भेटिने सम्भावना रहेको उपसचिव अवस्थीले बताए ।

सिन्धुपाल्चोकमै २०७१ मा जुरेको बाढी र पहिरोले १ सय ६० जनालाई बगाएको थियो; जसमा २५ जनाको शव भेटिएको थियो, बाँकी अहिलेसम्म बेपत्ता छन् । २०७१ साउन १७ मा मांखा र राम्चेको सीमाक्षेत्र जुरेमा पहिरो गएको खबर सुरेन्द्र काफ्लेगीता कुँवरको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर