newskoseli.Com

वामदेव सांसद त बने, मन्त्री पनि बन्दैछन् ? यस्तो छ ‘नेता व्यवस्थापन’ को समीकरण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका सबै शीर्ष नेता संसदमा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएकाबाहेक तीन जना नेता संसदबाहिर थिए । तर, उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ ।

अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेल प्रत्यक्ष निर्वाचन जितेर संसदमा प्रवेश गरेका हुन् भने रामबहादुर थापालाई सुरुमै राष्ट्रियसभामा पठाइएको थियो । संसदीय निर्वाचनमा पराजित उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि नेकपाले राष्ट्रियसभामा पठाएको छ ।

एक–अर्काको स्वार्थ मिल्दा सबै शीर्ष नेता सांसद बनेका छन् । पार्टीको एकता महाधिवेशन गर्ने मिति निर्धारण गरिसकेको अवस्थामा पछिल्लो पटक गौतमको मनोनयनमा जोड दिइएको थियो । ओलीको प्रस्ताव तथा दाहाल र नेपालको जोडबलमा गौतम पनि संसद् छिरेका छन् । यसलाई नेकपाको आन्तरिक विवाद व्यवस्थापनका रूपमा लिनुपर्ने राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल बताउछन् । ‘सबै शीर्ष नेता संसदमा सहभागी भएका छन्, यसलाई आन्तरिक विवादको व्यवस्थापन र आकांक्षाको व्यवस्थापनका रूपमा लिनुपर्छ’– उनले भने ।

पोखरेलका अनुसार अहिले पनि आन्तरिक चुनौती भने कायमै छ । ‘अब संसदीय दललाई सक्रिय बनाउँदा सबै विवादको निरूपण त्यहाँ हुनुपर्ने हो’– प्राध्यापक पोखरेलले भने । पार्टीभित्र तीन नेताहरू ओली, दाहाल र नेपालबीच अहिले पनि त्रिकोणात्मक द्वन्द्व कायमै छ । दाहाल पछिल्लो समय ओलीसँग मिले पनि नेपालसँगको सम्बन्धलाई टुटाएका छैनन् । पछिल्लो द्वन्द्वमा गौतमको साथ पाए पनि ओली उनलाई मन्त्री नबनाउन प्रयासरत छन् ।

गौतमको राष्ट्रियसभा सदस्यको यात्रा तय भएकै दिन डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेर ओलीले फेरि विवाद बल्झाउन खोजेका छन् । गौतमलाई मन्त्री बनाउँदा ईश्वर पोखरेल र रामबहादुर थापालाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती थपिने खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्–
राष्ट्रियसभा सदस्यका लागि वामदेव गौतम सिफारिस, छिट्टै नै मन्त्री समेत बन्दैछन् ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर