newskoseli.Com

पीसीआर रिपोर्टसँगै अब ‘भाइरल लोड’ समेतको जानकारी दिइने

आरटी–पीसीआरको रिपोर्ट दिँदा अबदेखि ‘भाइरल लोड’ को समेत जानकारी दिइने व्यवस्था सरकारले मिलाएको छ । पीसीआर परीक्षण गर्दा हालसम्म ‘पोजेटिभ’ वा ‘नेगेटिभ’ भनेर मात्र नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिँदैनथ्यो । भाइरल लोडलाई प्राविधिकरुपमा साइकल थ्रेसहोल्ड (सीटी) ‘भ्यालु’ का रुपमा मापन गरिन्छ ।

‘अबदेखि आरटी पीसीआर परीक्षणको नतिजा दिँदा सीटी भ्यालु समेत उल्लेख गरेर दिन प्रयोगशालाहरुलाई सूचित गरेका छौं’– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने । विज्ञका अनुसार कोरोना पोजेटिभमा भाइरल लोड बढी अथवा कम रहेको सूचना विभिन्न हिसाबले उपयोगी मानिन्छ । यो ‘भ्यालु’ ले संक्रमितमा भाइरसको उपस्थितिको मात्रा थाहा हुने भएकाले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ । यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरेर महामारी नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

नेपालका सबै प्रयोगशालाले आरटी पीसीआर परीक्षण गर्दा यो तथ्यांक स्वतः आउँछ । तर, यसअघि यो सूचना सरकारी कार्यालय र प्रयोगशालाका ‘लग बुक र मेसिन’ मा मात्र सीमित थियो, बिरामीको उपचार र अनुसन्धानमा यसको खास उपयोग भएको थिएन । ‘सिटी भ्यालुको उल्लेख गर्दा आरटी पीसीआरको विश्वसनीयता समेत बढ्छ र यो धेरै हिसाबले उपयोगी छ’– प्रवक्ता गौतमले भने ।

अन्तर्राष्ट्रियरुपमा यो भ्यालु सामान्यतया ३५ अंकभन्दा माथि रहे कम भाइरल लोड र ३५ भन्दा जति कम हुँदै गयो त्यति नै भाइरल लोड बढी भएको मानिन्छ । अन्तर्राष्ट्रियरुपमा ‘स्ट्यान्डर्ड टेस्ट’ मानिएको आरटी पीसीआरले संक्रमितको पहिचान गरे पनि वास्तवमा ती संक्रमितले तुलनात्मकरुपमा फरक–फरक हिसाबले भाइरसको प्रसारण गर्छन् भन्ने मानिँदै आएको खबर श्रीराम सुवेदीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर