यस वर्षको मनसुन थप लम्बिने भएको छ । यस वर्षको मनसुन सकिने दिन बुधबार अर्थात् सेप्टेम्बर २३ हो । तर, केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुनेछ र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत वर्षझैं यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।
‘नेपालमा पूर्वी र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ, त्यसैले केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना छ’– अर्यालले भने । उनका अनुसार मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ, जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।
नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैं दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्कंदै गर्दा पश्चिमी वायु समेत सक्रिय हुने भएकाले त्यसका लागि पनि अहिलेको मनसुनी वायुले भूमिका खेल्ने मौसमविद् अर्याल बताउँछन् ।
पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि बल्ल मनसुनको अन्त्य हुन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ । अघिल्ला केही वर्षयता कहिले मनसुन ढिलो सुरु हुने त कहिले ढिलो सकिने प्रवृत्ति देखिएको थियो । तर, यस वर्ष भने सुरु भएकै दिन (जुन १० देखि) नै मनसुन सक्रिय बनेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।