मन्त्रीमण्डल पुनर्गठन र संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्ग ओलीसँग भेटेर बालुवाटारमा छलफल गरे । तर, अध्यक्षद्वयले यो भेटमा पनि पुनर्गठन र नियुक्तिको साझा मापदण्ड बनाउन भने सकेनन् ।
झन्डै तीन घन्टा चलेको छलफलमा मन्त्रीमण्डल पुनर्गठनकै विषयमा अधिकांश समय गएको बुझिएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनका तीन विकल्प प्रस्तुत गरे पनि अहिलेसम्म मापदण्ड तय हुन सकेको छैन । दुई अध्यक्षबीच यस विषयमा पुनः छलफल हुनेछ । मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरू गर्न सरकारलाई सुझाव दिएको थियो । सोही बैठकले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार पार्न पनि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो ।
मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले अहिले रहेका केही मन्त्रीलाई निरन्तरता दिनुपर्ने अडान राखेका छन् भने अध्यक्ष प्रचण्डले चाहिँ दुई वर्ष कार्यकाल पूरा भएका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउनुपर्ने अडान राख्दै आएका छन् । चार महिना लामो आन्तरिक विवाद समाधान गरेको नेकपाभित्र अहिले मन्त्रीमण्डल पुनर्गठनको एजेन्डाले प्राथमिकता पाएको छ ।
मन्त्री भएकाहरू आफूलाई मन्त्रीमै यथावत राख्न र मन्त्री बन्ने आकांक्षीहरू आफूलाई समेट्न लबिङ गर्दै प्रधानमन्त्री निवास र प्रचण्ड निवास धाउने क्रम समेत बढेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।