प्रधानमन्त्री खड्ग ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ उनले बैठकमा राखेका थिए ।
‘पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आएको छ, तपाईंहरू कोही–कसैले अन्यथा नमान्नुहोला; कुनै पनि बेला हामीमध्ये केही साथीहरू मन्त्रिपरिषदबाट बिदा हुनुपर्ने अवस्था आउन सक्छ’– प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । ती मन्त्रीका अनुसार कोही असफल भएर हट्नुपर्ने बाध्यता नभएको तर पार्टीको निर्णय कार्यान्वयन गर्दा हेरफेर हुन सक्ने प्रधानमन्त्री ओलीले बताए । निकै लामो समयसम्म सञ्चालित बैठकमा प्रधानमन्त्रीले निकै बेर आफ्ना कुरा राखे । ‘प्रधानमन्त्रीज्यू विषयमा धेरै बेर आफ्ना धारणा राख्नुहुन्छ त्यही भएर पनि बैठक ढिलोसम्म चलेको हो’– एक मन्त्रीले भने ।
मन्त्रिपरिषद् बैठक बस्नुअगाडि दिउँसो नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच तीन घन्टा छलफल भएको थियो । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति भएको स्रोतले बतायो । तत्काललाई अर्थमन्त्री नियुक्त नगरी बाँकी मन्त्रालयमा मन्त्री हेरफेर तथा नयाँलाई जिम्मेवारी दिने तयारी भइरहेको स्रोतको दाबी छ ।
नेकपाको आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको थियो । पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरूलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने बाध्यता प्रधानमन्त्री ओलीलाई छ । पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्री हेरफेर गर्नुपर्ने सुझाव दिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।