newskoseli.Com

के–केबाट बढ्छ मुटुरोगको जोखिम ? ओभरवेट र उच्च रक्तचाप खतरनाक

अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढ्ने गरेको छ । कोरोनाभाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुटुरोगीका समस्या झनै थपिएका छन् ।

मानिसले आफ्नो स्वास्थ्यलाई भन्दा खानपानमा बढी जोड गर्दा प्रायः मुटुरोगको शिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसलेदार, चिल्लो, स्वादिलो खाना निरन्तररूपमा खाँदै जाँदा बिस्तारै नसर्ने यो रोगको शिकार हुने गरेका छन् । नसर्ने रोगमध्ये मुटुरोग प्रमुख हो ।

मानिसको आहार–व्यवहारले मुटुरोगको जोखिम बढाउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । चुरोट, खैनी, गुट्खाजस्ता पदार्थ नियमित सेवन गर्नाले पनि मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै यी वस्तुमा हुने निकोटिनले मुटुका धमनीलाई साँघुरो बनाउने र बिस्तारै मुटुसम्बन्धी रोग लाग्ने उनले बताए ।

ओभरवेट र उच्च रक्तचाप खतरनाक

अस्वस्थकर खानपान तथा चुरोट–बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने डा. रेग्मीले बताए । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभरवेट’ को समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको ‘बडी मास इन्डेक्स’ (आईबीएम) १८.५ देखि २४.५ को बीचमा हुनुपर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभरवेट’ मानिन्छ । ‘ओभरवेट’ महिला–पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् ।

शारीरिक श्रम नगर्नेले व्यायामबाट मुटुरोगको जोखिम घटाउन सक्ने डा. रेग्मीको भनाइ छ । व्यायामले कोलस्टेरोललाई सन्तुलनमा राख्नका साथै रक्तचाप, सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्ने भएकाले यसबाट फाइदा हुने उनले बताए । मुटुसम्बन्धी कुनै पनि रोग अथवा गम्भीर स्वास्थ्य अवस्था भएकाहरुले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तन सक्ने उनको भनाइ छ । आफूलाई रक्तचाप, हाई कोलस्टेरोल, मधुमेह वा अन्य किसिमका समस्या भएको जस्तो लाग्नासाथ चिकित्सककहाँ गई उपचार गर्नुपर्ने डा. रेग्मीले बताएको खबर सरोज ढुङ्गेलको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर