newskoseli.Com

क–कसलाई मन्त्री बनाउँदैछन् प्रधानमन्त्री ओलीले ?

केही मन्त्रालय टुक्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, आफू निकटस्थ केही मन्त्रीलाई निरन्तरता दिने, आफूलाई ‘बा’ भन्ने बथानका बदनाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समेट्ने– प्रधानमन्त्री खड्ग ओली अहिले यिनै चार कामको हतारमा छन् । तर, यो गन्तव्य भने उनका निम्ति चट्टान फोडेर पहाड छिचोल्नु झैं सकसपूर्ण छ ।

बालुवाटार स्रोतले जनाएअनुसार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार पनि यिनै चार विषयमा गलफत्ती चल्यो । तर, प्रचण्डले शैलीगत विषयमा मतभिन्नता व्यक्त गर्दै कुनै पनि कुरा प्रधानमन्त्रीले चाहे जसरी गर्नु नहुने अडान लिए ।

‘यति जना मन्त्री राखौं, यति–यति हटाऔं भन्नेमा नजाऔं; एकचोटि सबै खालि गरौं अनि रिसेट गरौं । तपाईंलाई चाहिएका दुई–चार जना राख्नुहोला, केही छैन’– प्रचण्डले भने । तर, प्रधानमन्त्रीले मानेनन् । ‘प्रदीप, ईश्वर र बादललाई हटाउनै हुन्न,’ प्रधानमन्त्रीले भने– ‘यीसहित अरु केही साथीलाई लिएर जाऔं ।’

प्रचण्डले चाहिँ हटाउनेलाई अपमानको शैलीमा र राख्नेहरूलाई पुरस्कारको शैलीमा व्यवहार गर्दा भोलि पार्टीभित्र पनि समस्या आउने खतरातर्फ इंगित गरे र भने– ‘त्यस्तो त गर्दै नगरौं ।’ प्रधानमन्त्रीले भने– ‘बादल पनि राखौं नै भनेको छु नि !’ प्रचण्डले तत्कालै भने– ‘बादललाई मन्त्री मात्रै किन ? उपप्रधानमन्त्री नै बनाऔं, सिनियर हो उहाँ तर कुरा बादल र अरु कसैको होइन, तरिका चाहिँ त्यस्तो अपनाऔं भनेको हुँ ।’

प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा २० जना नयाँ लैजाऔं, ५ जना पुरानैलाई राखौं भने । ‘पार्टी खतरामा पुग्दा पनि बचाइयो । अब खालि गरेर २, ४, ५ जना राखौं’– प्रचण्डले अडान दोहोर्‍योउँदा पनि ओलीले नमानेको संकेत मुन्टो हल्लाएर गरे । यसरी कुराकानी सिध्याएर खुमलटारस्थित निवास पुगेका प्रचण्ड कोठामा छिर्नेबित्तिकै झस्किए, बालुवाटारनिकट एक ‘पत्रकार नेता’ को ट्विट देखेर ।

छोरी गंगाले आफ्नो मोबाइलबाट देखाएको उक्त ट्विटका कुरा उतैबाट लेखाइएको भन्ने प्रचण्डले बुझिहाले । त्यसमा लेखिएको थियो– ‘प्रचण्डले सबै मन्त्री फेरौं भनेका छन् । बादल, लेखराज हटाउने र टोपबहादुर, हरिबोललाई नल्याउने भनेर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेका छन् ।’

आइतबार र सोमबार भएको भेटमा प्रचण्डले दोहोर्‍याई–तेहेर्‍योई भनेका छन्– ‘मन्त्रालय फुटाउनै नहुने त होइन, समग्र चेञ्ज गर्ने हो भने हुन सक्छ तर मन्त्रिपरिषद् नै समग्रमा नयाँ बनाऔं ।’ तर, प्रधानमन्त्रीको सुरचाहिँ घनश्याम भुसाल, योगेश भट्टराईजस्ता फरक खेमाका मन्त्री पनि हटाउने र आफूलाई ‘बा’ भन्ने बथानका मान्छे भित्र्याउनेमा केन्द्रित भएको कुरा प्रचण्डले मंगलबार केही निकटस्थ नेतालाई सुनाएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर