newskoseli.Com

नेकपामा फेरि बल्झ्यो लफडा : ओलीद्वारा एकलौटीरुपमा धमाधम नियुक्ति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि किचलो सुरु भएको छ । पार्टीको निर्णय तथा सहमतिविपरीत प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले एकलौटीरूपमा धमाधम राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायतका असन्तुष्ट नेता तत्काल सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितसँग बिहीबार टेलिफोन संवाद गरे । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित सचिवालय बैठक राख्नका लागि उनीहरूले अध्यक्ष दाहाललाई दबाब दिए ।

केही दिनअघि मात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु हुने देखिन्छ । मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’ मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो । सरकारले बिहीबार मात्रै दुई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदुत नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले शंकरदाश बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । खतिवडा मन्त्री पदबाट खुस्किएलगत्तै प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीसरह सुविधा दिने गरी आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले हालैका सबै नियुक्तिका विषयमा छलफल नै नगरी एकलौटी गरेको अध्यक्ष दाहालनिकट एक नेताको भनाइ छ ।

हालैको सचिवालय र स्थायी कमिटीका बैठकले गरेको निर्णय एवं निकालेको निष्कर्षविपरीत प्रधानमन्त्री ओलीले नियुक्ति गरेको दाहाल पक्षको आरोप रहेको खबर सुभाष साहको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर