newskoseli.Com

ओलीविरुद्ध अब कस्ता कदम ? बहुमत शीर्ष नेताबीच रोचक जुम मिटिङ

अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसँग आफैं डराउनुपर्ने । छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने । दूरसञ्चार र एनसेलको सिमबाट कुरा गर्‍यो– रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने । यस्तो ‘खतरा’ आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङको ।

इन्टरनेटमार्फत भिडियो कलको सुविधायुक्त उक्त प्रविधिअन्तर्गत अघिल्लो मङ्गलबार सचिवालय बैठक डाकिनुभन्दा दुई दिनअघि (आइतबार बिहान) जुम बैठकमा नेकपाका खुमलटारनिकट शीर्ष पाँच नेताको रमाइलो संवाद भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पेलाइबारे त्यसदिन नेताहरुवीच के–के छलफल भयो होला त ? किनभने, त्यही छलफलको क्रममै उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम ठुस्किएको थाहा पाएर सम्बन्ध सुधारका लागि बालुवाटारले बोलाएको थियो । र, त्यस यताको सचिवालय बैठक अहिलेसम्म अनिर्णित अवस्थामै छ ।

राजदूत र मुख्यसचिवमा भर्खरै एकलौटी नियुक्ति भएको पृष्ठभूमिबीच जुम मिटिङमा एक नेताले ‘अब ओलीजी नसच्चिने नै भए त ?’ भनेर सोधेपछि अध्यक्ष प्रचण्डले भने– ‘अब पनि हामी पार्टी निर्णय र हितभन्दा बाहिर गएर प्रधानमन्त्रीले गर्ने जुनसुकै निर्णयविरुद्ध माहोल बनाउने र कठोरभन्दा कठोर कदम चाल्न पछि हट्ने हो भने सहिसाध्य हुन्न । म त्यहीअनुरूप योजना र कदम चाल्छु; कमरेडहरूले पनि त्यसै गर्नुपर्छ, मेरा दुई–तीन जना मान्छे चोरेर प्रधानमन्त्रीले केही गर्न सक्नुहुन्न किनकि हामीसँग सचिवालयमा बहुमत छ, स्थायी कमिटीमा झण्डै दुईतिहाई छ र केन्द्रीय समितिमा स्पष्टसँग दुईतिहाई नै पुर्‍याएर देखाउनेछौं ।’

‘म त हैरान नै भैसकें, पार्टीभित्रको यत्रो रस्साकसी र लफडापछि बल्ल एउटा सहमति गरियो तर प्रधानमन्त्रीले आफूखुसी फेरि राजदूत र मुख्यसचिव नियुक्त गर्नुभयो; दिनदिनै मसँग बालुवाटारमा भेट हुँदा भने त्यस्तो केही कुरा निकालिएको थिएन’– अध्यक्षको यस्तो कुरा सुन्नेबित्तिकै पूर्वप्रधानमन्त्री झलनाथ खनालले थपे– ‘मलाई त पहिले नै शंका थियो, यिनले पार्टी निर्णय मान्छन् भन्नेमा ।’

अनि वरिष्ठ नेता माधव नेपालले भने– ‘तपाईंहरूले यिनलाई के चिन्नुभएको छ ! मैले त राम्रोसँग भोगेर आएको छु, प्रचण्ड कमरेडले तुरुन्त मिटिङ बोलाउनोस् अनि त्यहीं छिनोफानो हुन्छ अब ।’

तीनैजना शीर्षस्थ नेताको कुरामा प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमले सही थापे । अनि सबै जनाले ‘बहुमत हुँदाहुँदै आफूहरू पछाडि पर्नुमा गौतमले नै मौकामा लत्तो छाड्नुको परिणाम भएको! विषय उठाए । त्यही कुरालाई संकेत गर्दै खनालले भने– ‘अब त वामदेव कमरेडले बुझ्नुभयो होला नि !’ माधव नेपाल पनि के कम, ‘तपाईंले हामीसँग एक वचन पनि सोधनी गर्नुभएन, अब भोग्नोस् केपीलाई । तपाईंले मसक्क आँटेको भए अहिले त्यो किस्सा सिद्धिसक्थ्यो’ भनेर पुरानो कुरा छुस्स कोट्याइदिए ।

गौतमको कमजोरी र त्यसैमा प्रधानमन्त्रीले खेलेको विषयलाई केलाउँदै खनालले भने– ‘म पार्टी अध्यक्ष हुँदाहुँदै संसदीय दलमा मलाई हराएर केपीलाई जिताउनुभयो, अनि फेरि माधव नेपाललाई पार्टी अध्यक्षमा हराउनुभयो, त्यहींबाट तपाईंको साइत बिग्रिएको हो भन्ने मलाई लाग्छ वामदेव कमरेड !’ लगत्तै प्रवक्ता श्रेष्ठले गौतमलाई सोधे– ‘वामदेव कमरेड, किन तपाईंले त्यस्तो गर्नुभएको ?’ वामदेवले झटपट जवाफ दिए– ‘नत्र के गर्नु त, केपीले पार्टी फुटाउन तयार पारेका रहेछन् अनि !’

प्रधानमन्त्रीले पार्टी फुटाउनेसम्मको चाल रचेको भन्ने गौतमको जवाफमा असहमति जनाउँदै माधवले भने– ‘सहाना प्रधान, वामदेव गौतम, आरके, सीपीजस्ताले त पार्टी फुटाएर चलाउन नसक्दा फेरि टाङमुनि छिरेर आउनुपरेको थियो भने केपीले फुटाउने रे ! झापा आन्दोलनका हस्तीहरूको त त्यो हालत भएको थियो, उहाँले न पार्टीको काम गर्नुभयो, न संगठनको । १४ वर्षचाहिँ जेल बस्नुभएको थियो, त्यत्ति हो ।’

सबैको कुरा सुनेपछि गौतमले निकै गम्भीर हुँदै भने– ‘मलाई केपीले जति धोका दिनुभयो, ती सबै सहें । बारम्बार अपमानित भएर पनि बसें । मैले व्यक्तिगतरूपमा पाएको धोकालाई ठूलो मानेको छैन, अब पार्टी र देशले थप धोका पाउनुभएन भन्ने मात्रै मेरो चाहना हो ।’

जुम मिटिङको बिट मार्ने बेलामा गौतमले फेरि थपे– ‘मैले उहाँलाई पटक–पटक सहयोग गरें, अब भने थाकिसकेको छु । उहाँलाई मैले जति सहयोग कसैले गरेको छैन तर मलाई साह्रै अपमानित गरियो, मेरो केही लागेन । मैले पनि उहाँलाई सुधार्न नसकिने निचोड निकालेको छु ।’ नेकपाका केपीइतर शीर्ष नेताको जुम मिटिङको यो किस्सा बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर