newskoseli.Com

‘जाडोमा कोरोना झन् बढ्न सक्ने’ : थप सतर्कता अत्यावश्यक

देशभर कोरोनाभाइरस (कोभिड– १९) का सङ्क्रमितको संख्या बढ्ने जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने तर राति र बिहान चिसो बढ्ने क्रम चलिरहेको छ । अचेल नेपालमा दैनिक १५–२० जना कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा सङ्क्रमित हुने दर अझै बढ्ने चिकित्सकहरूले बताएका छन् ।

अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने चिकित्सकहरूको भनाइ छ । कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँ–स्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तने खतरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर गएकामध्ये कतिपयको भने पछि अन्य जटिलता निम्तिएर मृत्यु समेत भइरहेको छ ।

वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । जाडो मौसममा कोरोनाभाइरस बढी समयसम्म सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्नु नहुने सल्लाह उनले दिएका छन् । कोरोनाबाट सबै उमेरसमूहका मानिस उत्तिकै खतरामा रहेको उनको भनाइ छ ।

यिनले अपनाउनुपर्छ अझ सतर्कता

बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सर, मधुमेह, श्वास–प्रश्वास, दमलगायतका दीर्घरोगीलाई झनै खतरा रहेको डा. सुवेदीले बताए । दीर्घरोगीहरूले कोरोनासँग अत्यन्त सावधानी अपनाउनुपर्ने सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरू समेत बढी जोखिममा रहेको सरुवारोग विशेषज्ञ डा. सुवेदीले बताएको खबर सरोज ढुङ्गेलको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर