सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं अध्यक् खड्ग ओलीले पार्टीलाई फुटबाट जोगाउनका निम्ति ‘सहकार्य गरेर अघि बढ्न’ वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली–नेपालबीचको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै ‘सम्बन्ध सुधारेर अघि बढ्न’ प्रस्ताव गरेका हुन् ।
पार्टीभित्र सबै कमिटीमा अल्पमतमा परिरहेको र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मतभेद बढिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन वरिष्ठ नेता नेपालसँग ‘सहकार्य’ को प्रस्ताव गरेका हुन् । ओलीले सहकार्यका लागि नेपालसँग प्रस्ताव गरे पनि उनीहरुबीच कुनै सहमति भने हुन सकिरहेको छैन ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सामूहिकरूपमा अध्यक्ष ओलीसँग भेटेर सचिवालय बैठक बस्न लिखितरूपमै आग्रह गरेको भोलिपल्ट (आइतबार) ओली र नेपालबीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आइतबार तीन घन्टा लामो छलफल भयो । ओलीले छलफलका लागि नेपाल एक्लैलाई बोलाए पनि उनी भने आफू निकटका स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सँगै लिएर बालुवाटार पुगेको खबर सुभाष साहको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।