सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला शुक्रबार अपराह्न सचिवालय बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।
प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहमतिमै बैठक बस्न लागेको महासचिव पौडेलले बताए । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरूले तत्काल बैठक बस्न दबाव दिँदै आएका थिए ।
बैठकमा बस्न सहमत हुन २२ कातिकमा बहुमत सचिवालय सदस्यहरूले लिखितरूपमै प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले २५ कात्तिकमा प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकमा सहभागी हुन पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार गरेका थिए ।
यसैबीच, सचिवालय बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली सहमत भएपछि प्रचण्ड–नेपाल समूहले आन्तरिक तयारीका लागि बिहीबार छलफल गरे । दाहाल निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ सहभागी भएको स्रोतको भनाइ छ ।
यसैगरी, बालुवाटारमा प्रधानमन्त्री ओलीले समेत आफू निकटका नेताहरूसँग बैठकको रणनीतिबारे छलफल गरे । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव एवं अर्थमन्त्री पौडेललगायतका नेतासँग ओलीलले छलफल गरेका छन् । स्रोतका अनुसार दुवै समूहले एक–अर्काविरुद्ध खरोरूपमा उत्रने आन्तरिक तयारी गरेको खबर सुभाष साहको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।