आफूमाथि लगाइएका ‘संगीन आरोप’ को पुष्टि गर्न सत्तारूढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका छन् ।
अध्यक्ष प्रचण्डले लगाएका ‘आरोप’ र ‘लाञ्छना’ पुष्टि भएमा आफूले पद छाड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छाड्नुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले पहिलो पटक अध्यक्ष प्रचण्डको पदमाथि प्रश्न उठाएका हुन् ।
ओलीको सम्बोधन जस्ताको तस्तै पढ्न यो लिंक खोल्नुहोस्–
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
बुधबारको सचिवालय बैठकमा प्रचण्डको ‘अभियोगपत्र’ को जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने प्रधानमन्त्री ओलीले बताए । ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने आशयसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्को बैठकमा दिने तयारी उनले गरेका छन् ।
आफूमाथि लगाइएका ‘आरोप’ सही ठहरिए आफूले दुवै पद छाड्ने र गलत ठहरिए आरोप लगाउने अध्यक्ष प्रचण्डले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले औंल्याएको खबर सुभाष साहको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।