अघिल्लो बुधबार (३ मंसिर) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र उनकै निकट एउटा निजी क्षेत्रको दैनिक पत्रिकामा छापिएपछि सो पार्टीभित्र अविश्वास थप चुलिएको छ ।
बैठक सकिएको केही क्षणमै सचिवालयमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको सम्बोधनको पाठ हुबहु बाहिर छरपस्ट भयो । ‘अब उक्त विषय पनि सचिवालयको आगामी बैठकमा नयाँ र पेचिलो ढंगले प्रस्तुत हुने’ बताउँदै बहुमत समूहका एक सदस्य भन्छन्– ‘अबदेखि महत्त्वपूर्ण बैठकमा बोलिएको अडियो रेकर्ड सबैले सबैलाई दिन सकिने गलत नजिर स्थापित भएको छ ।’
उनका अनुसार बैठकमा ‘अडियो रेकर्ड गर्ने प्रचलन छैन र यस पटक पनि गर्ने भनिएको थिएन । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गरेको सम्बोधनको पूर्ण पाठको अडियो ‘अन्नपूर्ण पोस्ट’ र ‘गोरखापत्र’ दैनिकमा बालुवाटारले साँझतिर सोझै उपलब्ध गराएको स्पष्ट भएको छ ।’
‘अन्नपूर्ण पोस्ट’ ले ‘प्रधानमन्त्रीको स्वकीय सचिवालयले उपलब्ध गराएको अडियोको सम्पादित अंश’ भनेर उल्लेख गर्नुले पनि बैठकमा बालुवाटारले प्रविधिको चरम दुरूपयोग गरेको प्रमाणित भएको उनको भनाइ छ । उक्त घटनाले अब पार्टीको कुनै पनि बैठकमा रेकर्ड हुँदैन भन्ने कुराको ग्यारेन्टी सकिएकाले भोलिका दिनमा कोही पनि सुरक्षित नरहने सन्देश समेत दिएको छ ।
‘कम्युनिस्ट’ पार्टीको उपल्लो तहको बैठकमा बोलिएका र व्यक्त गरिएका धारणालाई रेकर्ड गरेर सम्पूर्ण आवाज आफू अनुकूलका मिडिया र व्यक्तिलाई उपलब्ध गराउने परिपाटीले समस्या झन् बल्झिने खतरा रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।