newskoseli.Com

‘मिलेर जाऊँ, पालैपालाे सरकार चलाऊँ’ : देउवासँग ओलीको आग्रह; कता कोल्टे फेर्दैछ नेकपा ?

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तर्विरोध व्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष खड्ग ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना विरोधी सहयात्रीहरुलाई ‘तर्साउने’ राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ ।

त्यही पृष्ठभूमिमा प्रधानमन्त्रीले देउवासँग ‘मिलेर जाऔं’ भनेका हुन् । ‘हाम्रो पार्टीभित्र संकट चुलिएको छ, कुनै पनि बेला विभाजन आउन सक्छ; त्यसका लागि पनि मिलेर जानुप¥यो भन्ने भनाइ हो,’ पछिल्लो भेटमा भएको वार्तालाप र प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ– ‘हामी मिलेर जाँदा सरकार तपाईं र म– जसले चलाए पनि हुन्छ । पछि तपाईंले चलाउनुहोला, चुनाव पनि तपाईंले नै गराउनुहोला ।’

प्रधानमन्त्रीको पछिल्लो प्रस्तावले कांग्रेसभित्र पनि ठूलो तरङ्ग ल्याइदिएको छ । बहुमत प्राप्त पार्टी फुटाउन बल पुग्ने गरी सरकारमा जाने वा नजाने भन्ने विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मादेखि सहमहामन्त्री प्रकाशशरण महतसम्मले मुख खोलिसकेका छन् । अधिकांश नेता तथा कार्यकर्ता संसदको चालु कार्यकालभरि कांग्रेस सरकारमा जानु नहुनेमा देखिन्छन् । तर, ज्योतिषद्वारा फेरि प्रधानमन्त्री बन्ने कुरामा आश्वस्त तुल्याइएका सभापति देउवा पद र पैसा भनेपछि हुरुक्कै हुने भएकाले पनि एकथरि सशंकित छन् । उनीहरुका अनुसार ‘प्रधानमन्त्री ओलीलाई बोकेर चुनावको मुखमा कांग्रेस सती जानु हुँदैन ।’

गत आमनिर्वाचनमा नसोचेको पराजय भोगेपछि कांग्रेस प्रमुख प्रतिपक्षमा बसेर ‘आगामी चुनाव जसरी पनि जित्ने’ अभियानमा लागेको छ । त्यसैले पनि अहिलेको अवस्थामा सरकारमा जाने सम्भावना कुनै कोणबाट पनि उपयुक्त नदेखिएको स्वयं देउवा निकटस्थहरु स्वीकार्छन् । कथम् गइहालेमा अघिल्लो चुनावको मुखमा हुर्हुराउँदै देउवा सरकारमा सहभागी भएको कमल थापा नेतृत्वको राप्रपाको हालतमा पुग्न बेर नलाग्ने राजनीतिक विश्लेषकहरुको निचोड छ ।

यता, नेकपाभित्रको संकटमा प्रधानमन्त्रीका विकल्पहरु क्रमशः साँघुरिँदै गएका छन् । यस्तो अवस्थामा उनले अधिकतम आफू अनुकूलको अध्यादेश जारी गरेर पार्टी विभाजनसम्म गर्न सक्छन् । तर, त्यो अवस्था पनि यतिखेर धेरै टाढा देखिन्छ । जति प्रयास गर्दा पनि संसदीय दलमा प्रधानमन्त्रीको एक्लौटी बहुमत पुग्न सकेको छैन । पार्टीभित्रको अवस्था अझ त्योभन्दा प्रतिकूल छ ।

सचिवालयको निर्णायक भूमिकामा रहँदै आएका उपाध्यक्ष वामदेव गौतमको भूमिकालाई लिएर बालुवाटार अझै पनि आश्वस्त हुन नसकेको बताइन्छ । यसबीच, गौतमलाई एकथरिले ‘प्रतिगमनको डर र भूत’ देखाएर भए पनि आफ्नो पक्षमा पार्न असफल प्रयास गरिरहेका छन् । त्यही प्रयासको आधारमा अन्तिम बेला गौतमको साथ लिन सकिने बालुवाटारको दाबी छ ।

सचिवालयको बैठक आगामी शनिबारका लागि तय गरिएको छ । कात्तिक २८ को बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको १९ बुँदे प्रस्ताव कुनै हालतमा फिर्ता नहुने खुमलटारले स्पष्टरुपमा बताइसकेको छ । सम्भवतः प्रधानमन्त्रीले आगामी बैठकमा नयाँ ‘काउन्टर प्रस्ताव’ राख्नेछन् । ‘काउन्टर प्रस्ताव’ आएसँगै बैठकमा दर्ज भएका सबै प्रस्तावमाथि मिहिन ढंगले छलफल गर्नुपर्ने बाध्यकारी अवस्था आइपर्ने छ । र, अन्तमा एक–एक गरी ती सबै प्रस्तावलाई निर्णयार्थ पेस गर्नुपर्ने हुन्छ । त्यसो हुँदा परिस्थितिले कोल्टे फेर्न सक्नेतर्फ बालुवाटार अरुभन्दा बढी सचेत हुनुपर्ने देखिन्छ ।

समय घर्काउन र परिस्थिति आफू अनुकूल बनाउन सहयोग पुग्ने उद्देश्यले प्रधानमन्त्रीले चिनियाँ रक्षामन्त्रीको भ्रमणपछि पुनः लकडाउन गर्ने मनस्थिति समेत बनाएको बताइन्छ । यसबीच काठमाडौं उपत्यकाका मेयरहरुको फोरमले तीन हप्ताका लागि ‘कडा लकडाउन’ गर्न सिफारिस समेत गरेको छ । त्यसैले एकातिर मेयरहरुको प्रस्ताव र अर्कोतिर प्रधानमन्त्री स्वयंले क्याबिनेट बैठकमा निकालेको लकडाउनको प्रसङ्गलाई पनि नेकपाभित्रको विवादसँग जोडेर हेरिएको हो ।

चिनियाँ राजदूत हौ यान्छीले समेत यसबीच नेकपाका शीर्ष नेतृत्वसँगको भेटमा राजनीतिक स्थिरताका लागि कुनै हालतमा पार्टी विभाजन हुनु नहुने एकसूत्रीय सन्देश सुनाएको चर्चा चलेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर