सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि पार्टीलाई फुटको दिशामा अग्रसर गराएको आरोप लगाएको छ । सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेजलाई किताबका रूपमा आफूखुसी प्रकाशन गरेर पार्टीपंक्तिमा वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप ओली पक्षले लगाएको हो ।
अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीविरुद्ध संगीन आरोप लगाइएको छ । ओलीले पनि १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्ने गरी ती आरोपको खण्डनसहित दस्तावेज तयार पार्ने गृहकार्य अघि बढाएका छन् । दुवै पक्षले एक–अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् ।
दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि–पद्धति मिचेर अराजकता मच्चाएको आरोप ओली पक्षका नेताले लगाएका छन् ।
अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको हो । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ ।
सो किताब देशव्यापीरूपमा वितरण गर्नुलाई ओली पक्षका नेताहरूले ‘पार्टी विभाजनको औपचारिक कदम’ का रूपमा चित्रण गर्न थालेको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।