newskoseli.Com

सगरमाथाको नयाँ उचाई घोषणा हुँदै, सरकारले दियो स्वीकृति

विश्वसर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृति प्रदान गर्न भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेकी थिइन् । आर्थिक वर्ष २०७५–७६ देखि सुरु भएको सगरमाथाको उचाई मापन कार्य सम्पन्न भएर अहिले घोषणा गर्ने चरणमा आएपछि सरकारले औपचारिकरुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

‘सरकारले पहिलो पटक आफ्नै स्रोत–साधानमा सगरमाथाको उचाई मापन गरेको छ र त्यो कार्य अहिले सम्पन्न भएको छ,’ मन्त्री अर्यालले भनिन्– ‘अब हामी आफैंले नापेको सगरमाथाको उचाई औपचारिकरुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौं ।’ सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुन सक्ने चर्चा चलेपछि नेपालले पहिलो पटक आफ्नै स्रोत–साधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

मन्त्रीपरिषदद्बारा स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिकरुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सन् २०१९ मा चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजिम नेपाल र चीनको सरकारी टोलीले संयुक्तरुपमा काम गरेको थियो ।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इन्डियाले सन् १९५४ मा मापन गरी कायम गरिएको सगरमाथाको उचाई ८,८४८ मिटर नै हालसम्म कायम रहिआएको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर