भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री खड्ग ओलीले ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए । अझ एक कदम अघि बढेर ‘अब म भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा उनले गरेका थिए ।
तर, भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने उद्देश्यले स्थापित अख्तियारद्वारा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेका कुरालाई ट्रान्स्परेन्सी इन्टरनेसनलको रिपोर्टले भने गलत पुष्टि गरिदिएको छ । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे पनि ठूलठूला भ्रष्टाचार काण्डमा आरोपित आफूनिकटका व्यक्तिहरूको बचाउमा लागेकाले आम मानिसमा प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको बुझाइ रहेको ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बताए ।
आर्थिक अनियमिततामा संलग्न भएका व्यक्तिमाथि विनाछानविन प्रधानमन्त्री स्वयंले नै ‘सफाइ’ दिने गरेको उनको भनाइ छ । वाइडबडी विमान खरिदमा भएको अनियमितता, सेक्युरिटी प्रेस खरिदका क्रममा भएको घुस बार्गेनिङ, ओम्नीसँग खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको अनियमितता छताछुल्ल हुँदा पनि उक्त कार्यमा संलग्न मन्त्रीहरूले कुनै भ्रष्टाचार नगरेको सार्वजनिक अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिनु र राज्यका निकायलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिनुले उनी नै भ्रष्टाचारीको संरक्षक भएको आम नागरिकको बुझाइ रहेको अधिवक्ता केदार कार्कीले बताए ।
आम नागरिकमा नै राजनीतिज्ञ र कर्मचारी तथा राज्यका विभिन्न संयन्त्रमा व्यापक भ्रष्टाचार हुने गरेको बुझाइ रहेको पूर्वमुख्य सचिव विमल कोइरालाले बताए । भ्रष्टाचार गर्दिनँ भनेर प्रतिज्ञा गर्न लगाउँदैमा घुस खान नरोकिने र सुशासन कायम नहुने भन्दै आम नागरिकले काम–व्यवहारबाट मात्र त्यसको महसुस गर्न सक्ने उनले बताए ।
एसियाका १७ देशमा गरिएको सर्वेक्षणमा विगत एक वर्षमा भ्रष्टाचार पहिलेभन्दा झनै बढेको ५८ प्रतिशत नेपालीले बताएको ट्रान्स्परेन्सी इन्टरनेसनलको एसिया रिपोर्टमा उल्लेख छ । हालै प्रकाशित गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर : एसिया, २०२०’ को रिपोर्टकै हिस्साका रूपमा ट्रान्स्परेन्सी इन्टरनेसनलले ब्लगमा लेख प्रकाशन गरेको छ । टीआईले त्यसलाई भ्रष्टाचारसम्बन्धी नागरिकको धारणा समेटिएको हालसम्मको सबैभन्दा विस्तृत सर्वेक्षण भनेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।