सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री खड्ग ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन’ अघि सारिएको छ । ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने सो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संकेत गरेका छन् ।
सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेका बेला अध्यक्ष प्रचण्डले आफू निकट नेताहरुसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री, नभए अध्यक्ष पद छाड्नुपर्ने बताएको स्रोतको भनाइ छ । ‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलेदेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए, अहिले प्रचण्डले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ प्रचण्ड निकट स्रोतले भन्यो– ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ ।’
तर, ओली भने दुवै पद छाड्ने पक्षमा छैनन् । प्रधानमन्त्री पद लिन निर्वाचनसम्म कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न उनले भनिसकेका छन् । चार महिनापछि हुने पार्टीको महाधिवेशनले नयाँ अध्यक्ष छान्ने र आगामी आम निर्वाचनले अर्को प्रधानमन्त्री चयन गर्ने भएकाले त्यतिबेलासम्म ‘धैर्य गर्न’ ओलीले भनेका हुन् ।
यता, गत भदौ २६ मा स्थायी कमिटीको बेठकले गरेको निर्णय कार्यान्वयन गर्ने र प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रस्ताव फिर्ता गरी दुवै अध्यक्षको संयुक्त दस्तावेज ल्याउन प्रम ओलीले प्रस्ताव गरेका छन् । सोही प्रस्ताव लिएर बिहीबार बिहान महासचिव विष्णु पौडेल खुमलटारस्थित प्रचण्ड नविास पुगेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।