सत्ताधारी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेर पार्टी विभाजन हुने स्थिति बनिरहँदा ‘पूर्वएमाले’ हरूलाई आफूतिर तान्दै प्रचण्डहरूलाई ‘एक्ल्याउने’ प्रयासस्वरूप अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र उनका केही सहयोगीहरूले ‘जनताको बहुदलीय जनवाद’ अर्थात् ‘जबज’ को तुरूप थापे ।
‘जबज ब्युँताउने र संरक्षण गर्ने’ बहानामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र अरू तमाम नेता–कार्यकर्तालाई ‘धर्मसंकट’ मा पारेर प्रचण्डहरूलाई ‘एक्ल्याउन’ भन्दै केही अघिदेखि ‘मदन भण्डारी फाउन्डेसन’ का नाममा वडास्तरसम्म समानान्तर संगठन विस्तार गर्ने ओलीको प्रयासलाई उनकै समकक्षी–समकालीनहरूले ध्वस्त पारिदिएका छन् । तत्कालीन एमालेले ‘सिद्धान्त’ नै मानिआएको तर व्यवहारमा भने कहिल्यै र कहीं–कतै प्रयोग एवं अभिव्यक्त नभएको अमूर्त ‘जबज’ अरूले नभई स्वयं खड्ग ओलीले नै सबैभन्दा पहिले छाडिदिएको रहस्योदघाटन नेकपाका उपाध्यक्ष वामदेव गौतमले गरेका छन् ।
++++++++ ++++++++
शनिबार बसेको सचिवालय बैठकमा बोलदै उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री खड्ग ओलीले नै ‘जबज’ छाडेको गम्भीर खुलासा गरिदिएका हुन् । प्रधानमन्त्री ओलीले नै ‘जनताको बहुदलीय जनवाद’ परित्याग गरिसकेकाले आफूलाई त्यसको पक्षमा उभ्याउने नैतिक धरातल उनले गुमाइसकेको टिप्पणी उपाध्यक्ष गौतमले बैठकमा गरे । पार्टी एकताकै बेला ओलीले सहमति जनाएकै कारण अब ‘जबज’ ब्युँतिने अवस्थामा समेत नरहेको गौतमको टिप्पणी थियो । ‘पार्टी एकीकरण कमिटीको बैठकका बेला त्यतिबेलै तपाईंले ‘जबज’ छाड्ने भनेको होइन ? एकता महाधिवेशन समेत चुनावबाट होइन, सहमतिमा गर्ने भनेर हस्ताक्षर गरेपछि उतिबेलै तपाईंले ‘जबज’ छाडिसकेको हो, अरू (माधव नेपाल) ले ‘जबज’ का पक्षमा अन्तिमसम्म अडान राख्दा तपाईं किन अडिनुभएन ?’ गौतमको प्रश्न थियो– ‘अब पार्टी फुटे पनि फुटोस् भन्नुहुन्छ भने त बेग्लै कुरा हो ।’
बैठकमा बोल्दै गौतमले ‘दुवै पदबाट राजीनामा नदिने’ ओलीको भनाइको प्रतिवाद मात्रै गरेनन्, ओली दुवै पदमा असफल भएको दृष्टान्त समेत प्रस्तुत गरे । ‘प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ भन्नुहुन्छ भने त त्यो आरोप लगाउने कामको सुरुआत त पार्टी एकताको सात महिनामै मैले गरेको हुँ, दुवै पदका निम्ति तपाईं योग्य होइन भन्ने आरोप मैले लगाएको हुँ, त्यसैले ‘पहिलो पटक ममाथि यस्तो आरोप लाग्दैछ’ भन्ने तपाईंको अभिव्यक्ति फेर्नुस्, हामी पाँचै जनाको समर्थनमा प्रस्ताव आएको हो, यो प्रचण्डको मात्र प्रश्न होइन ।’
++++++++ ++++++++
‘म नै राज्य हुँ’ भनेजस्तो व्यवहार गरिरहेका ओलीविरुद्ध उनका सहकर्मीहरुको प्रतिवादसम्बन्धी यो खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।