जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्य परिमार्जनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिएको छ । नेपाललगायत पेरिस सम्झौताका पक्ष राष्ट्रले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि राष्ट्रियरूपमा निर्धारित योगदान (एनडीसी) सम्बन्धी परिमार्जित दस्तावेज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (यूएनएफसीसी) लाई यही डिसेम्बरभित्र परिमार्जनसहित बुझाउनुपर्ने भएपछि यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगिएको हो ।
गत वर्षको डिसेम्बरमा स्पेनको राजधानी मेड्रिडमा सम्पन्न जलवायुसम्बन्धी कोप– २५ बैठकमा पेरिस सम्झौताका पक्षराष्ट्रहरू एनडीसीको परिष्कृत लक्ष्य सन् २०२० को अन्त्यसम्ममा महासन्धिको सचिवालयमा बुझाउन सहमत भएका थिए । कात्तिक २ मा मन्त्रीस्तरीय निर्णयले गठित कार्यदलले एनडीसीको परिमार्जित दस्तावेज तयार पारेको थियो ।
‘यो प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषदमा पुगिसकेको छ, छिट्टै स्वीकृत हुने चरणमा छ’– वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले भने । पेरिस सम्झौता भएको पाँच वर्ष पुगेको उपलक्ष्यमा डिसेम्बर १२ मा ‘क्लाइमेट एम्बिसन समिट’ आयोजना हुन लागेकाले यो प्रस्तावलाई यही साता स्वीकृत गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री खड्ग ओलीले सो भर्चुअल सम्मेलनलाई सम्बोधन गर्ने तयारी समेत रहेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।