भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ (सामाजिक सञ्जाल) का प्रयोगकर्ता नेपालमा बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र ‘भाइरल’ हुने बहानामा केही व्यक्तिले जथाभावी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता समेत उदांगो भइरहेको प्रहरीको ठहर छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाका बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ । ब्युरोका एसपी पशुपति रायका अनुसार ‘टिकटक’ ले पनि साइबर अपराधमा आगो थप्ने काम गरिरहेको छ ।
सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सरकारले आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ । ‘टिकटक’ बाटै गोपनीयता भंग मात्र होइन, ठगी समेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको एसपी रायले बताए । कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पुर्याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी उनले दिए ।
‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ एसपी रायले भने– ‘बाटामै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्रहत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, ‘टिकटक’ बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं ।’ ‘टिकटक’ बाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ ।
सामाजिक सञ्जालको जञ्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगतरूपमा चोट पुग्ने गरेको छ । सामाजिक सञ्जालबाट ठगिएकाबाट सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन् । उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आईडी ब्लक गरिदिनेजस्ता ‘उपचार’ गर्दै आएको छ ।
एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा ‘टिकटक’ बनाउने प्रवृत्ति बढेको छ । प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरेर पनि ‘टिकटक’ मा अपलोड गर्छन् । कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ ।
ड्युटीमै अनावश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ । नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको खबर शिवहरि घिमिरेको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।