newskoseli.Com

‘विप्लवहरूमाथि सूक्ष्म निगरानी बढाउनू’ : प्रधान सेनापति

‘हिंसात्मक गतिविधि’ मा संलग्न भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा ‘सूक्ष्म निगरानी’ बढाउन प्रधानसेनापति पूर्णचन्द्र थापाले मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् । शान्ति–सुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, बाहिनी र गण–गुल्मपतिहरूलाई भनेका छन् ।

विप्लव नेकपाले पछिल्लो पटक मंसिर २३ मा मिक्लाजुङ गाउँपालिका– १, रमिते, मोरङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट (२४ गते) पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर प्रधानसेनापति थापाले शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए ।

विभिन्न जिल्लामा भएको प्रधानसेनापतिको भ्रमणका क्रममा विप्लव नेकपाका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । मंसिर २४ मा प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर र अन्तर्गत युनिटहरूको निरीक्षण गरेका थिए । बुधबार पाँचथरको भैरवी दल गण, ताप्लेजुङको भीमकाली गुल्म, संखुवासभाको रणभीम गुल्म र इटहरीस्थित पृतना हेडक्वार्टरको निरीक्षण गरेका थिए ।

‘आफ्नो जिम्मेवारी क्षेत्रमा भएका सुरक्षासम्बन्धी विभिन्न चुनौतीलाई विश्लेषण तथा अनुगमन गर्ने सेनाको दायित्व नै हो,’ प्रवक्ता पौडेलले भने– ‘यसमा गैरसंवैधानिक बाटो र हिंसात्मक गतिविधिमा संलग्नहरूको बारेमा विशेष निगरानी राख्नुपर्छ भन्ने नै प्रधानसेनापतिको भनाइ हो । यसबारेमा जानकारी लिइरहनुपर्छ भनेर प्रधानसेनापतिले भन्नुभएको छ ।’ विप्लव नेकपाका गतिविधि र नेपाली सेनाको चासोसम्बन्धी यो खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर