स्थायी कमिटीमा बुधबार व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो बिहीबार प्रधानमन्त्री खड्ग ओलीले उल्टै संवैधानिक परिषदको बैठक राख्न पो प्रयत्न गरे । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेरै परिषदको बैठक राखे त्यसले दुर्घटना निम्त्याउँछ भन्दै ‘सचेत’ गराएपछि अन्तिम समयमा ओलीले बैठक स्थगित गरे ।
बुधबारको सहमतिअनुसार अध्यादेश फिर्ता लिनका लागि बोलाइएको भनिएको बिहीबार साँझको मन्त्रिपरिषद् बैठकमा समेत ओलीले अध्यादेशबारे उच्चारण नै नगरेपछि सो पार्टीका नेताहरू सशंकित भएका छन् । प्रधानमन्त्रीका पछिल्ला क्रियाकलपाबाट मन्त्रिपरिषदका सदस्यहरू समेत आजित देखिएका छन् ।
‘पहिले पनि हामीलाई जानकारी दिएर अध्यादेश जारी भएको होइन, आजको मन्त्रिपरिषद् बैठकमा पनि यो विषयमा कुनै छलफल भएन,’
बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ताको निर्णय लिन कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिँदै एक मन्त्रीले भने– ‘सुटुक्क ल्याइयो, सुटुक्कै फिर्ता हुने होला; प्रधानमन्त्रीले अरूलाई मान्छे नै देख्न छाड्नुभएको छ, एक्लैले सिफारिस गरेको अध्यादेश फिर्ता लिने निर्णय पनि आफैंले मात्र गर्न खोज्नुभएको होला ।’
पार्टीभित्र भएको सहमतिलाई कार्यान्वयन गर्न अटेर गरेर प्रधानमन्त्री एक्लै हिँड्न खोजेको नेकपाका एक नेताले टिप्पणी गरे । उनले भने– ‘हाम्रो तर्फबाट पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई जोगाउन इमानदार प्रयास भएको छ, हिजो (बुधबार) सहमति गर्न भूमिका खेल्ने प्रधानमन्त्रीतिरका साथीहरूले अब के गर्नुहुन्छ, हेरौं; नभए स्थायी कमिटीको बैठकले विधि र प्रक्रियाअनुसार बाटो समाउँछ ।’
बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित एजेन्डाबारे मात्रै छलफल गरेर टुंगियो । बेलुकी साढे ६ बजे सुरु भएको बैठक आधा घन्टामै सकिएको एक मन्त्रीले जानकारी दिए । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो । सो सहमतिसँगै संसदको विशेष अधिवेशनका लागि निवेदन लिएर राष्ट्रपति कार्यालय गएका स्थायी कमिटीका सदस्यद्वय भीम रावल र पम्फा भुसाल सोही सहमतिपछि निवेदन दर्ता नगरी फर्केको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।