newskoseli.Com

‘पार्टी त पुस १ मै फुटिसकेको हो’ : प्रदिप ज्ञवालीको घोषणा !

नेकपाका स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुस १ मै वस्तुतः पार्टी फुटिसकेको ‘घोषणा’ गरिदिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले विभाजनको बिउ धेरै अगाडि नै रोपेको ज्ञवालीको दावी छ ।

उनले भनेका छन्– ‘पार्टी वस्तुतः अस्ति १ गते नै फुटेको हो । त्यो दिन संसदीय दलको नेतालाई थाहै नदिईकन विशेष अधिवेशन बोलाउनका लागि साथीहरू कुद्नुभयो र आज छलफल चल्दै गर्दा अविश्वासको प्रस्ताव दर्ता हुन्छ भने साथीहरूले विभाजनको बिउ त धेरै अगाडि नै रोप्नुभएको हो भन्ने प्रस्टै छ नि ! त्योभन्दा अगाडि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध जुन खालको भाषाशैली प्रयोग भएको छ, यो हिसाबले भन्दा त विभाजनको बिजारोपण धेरै अगाडि भएको हो ।’

संसद् विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावबारे मन्त्रिपरिषदको बैठकमै असहमति जनाएका भनिएका ज्ञवालीले भनेका छन्– ‘प्रधानमन्त्रीका सामु योबाहेक अर्को बाटो थिएन । साथीहरूले चौतर्फी घेराबन्दीबाट यस्तो बिन्दुमा पुर्‍याउनुभयो कि मुलुकलाई निकास दिन यो एउटा बाध्यकारी निर्णय लिनुपर्‍यो । मेरो व्यक्तिगत मतको कुरै भएन, अहिले व्यक्तिगत प्रश्न पनि नसोध्नोस् । सरकारले निर्णय लियो, यो एक प्रकारको सामूहिक निर्णय हो । निर्णयमा पुग्नुभन्दा अगाडि विभिन्न ढंगले छलफल त हुन्छ नि !’

प्रधानमन्त्रीका ‘विरोधी’ नेताहरूलाई चुनौती दिँदै मन्त्री ज्ञवालीले भनेका छन्– ‘नेताहरूलाई अब एउटा अवसर पनि छ, साथीहरूले केपी ओलीका कारण दुईतिहाइ आएको होइन भन्दै हुनुहुन्थ्यो, अब लोकप्रियता मापन गर्न, परीक्षण गर्न र विजयी हुनका लागि उहाँहरूलाई सहज बाटो खुलेको छ । अब थप तिक्तता गरिरहनुपर्ने जरुरी भएन । खालि ध्यान केन्द्रित गरेर निर्वाचनतिर जानु नै उपयुक्त हुन्छजस्तो लाग्छ ।’

नेकपा नेता एवं मन्त्री ज्ञवालीका यी धारणा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित उनको अन्तर्वार्तामा व्यक्त भएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर