संसद् विघटन गर्ने प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र दुईथरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनर्स्थापनातिर केन्द्रित हुने कि निर्वाचिततिर भन्नेमा मत बाझिएको हो ।
सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरका रुपमा लिएर निर्वाचनको तयारीमा जानुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभ–हानि हेर्नु नहुने पक्षमा छन् ।
पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन कांग्रेस पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन् । सँगसँगै अदालतको ढोका ढक्ढक्याउने बाटो पनि कांग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन् । सार्वजनिक खपतका निम्ति विज्ञप्ति निकाल्ने बाहेक सभापति देउवा प्रधानमन्त्री ओलीको कदमप्रति आक्रामक छैनन् र उनी आफैं अघि सरेर प्रतिवादमा पनि नउत्रिएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।