‘प्रचण्डले मलाई एकदमै अन्डरइस्टिमेट गर्नुभयो, हेप्नुभयो, अब मन्त्रीबाट राजीनामा दिएँ भनेर भन्न म उहाँकहाँ जान्नँ !’ परिवर्तित परिस्थितिमा आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने दबाबसहित सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सरकारी निवास पुल्चोक पुगेका आफू पक्षधर पूर्वमाओवादी नेताको भेलाबीच बादलले उक्त कुरा बताए ।
लगत्तै उनलाई भेट्न पुल्चोक पुगे प्रचण्ड । बादलका भनाइ उद्धृत गर्दै एक नेताले सुनाए– ‘तपाईंहरुको सुझाव प्रतिगमन (ओली) तिर होइन, यथास्थिति (प्रचण्ड) तिरै जाने कुरामा मेरो समर्थन छ तर यसनिम्ति प्रचण्डसँग कुरा गर्नुपर्छ ।’ नेकपाको केन्द्रीय कमिटीमा बादल समूहका ३३ जना छन् । तीमध्ये स्थायी कमिटीमा स्वयं बादल, पम्फा भुसाल र देव गुरुङ छन् ।
केपी ओलीसँगको तालमेलमा बादलका मान्छेहरुले विभिन्न प्रदेशमा प्रशस्तै भूमिका पाएका छन् । कर्णालीमा आन्तरिक मामिला (गृह) मन्त्री छन् नरेश भण्डारी । गण्डकीमा पनि आन्तरिक मन्त्री छन् हरिबहादुर चुमान । प्रदेश– १ मा एक मात्र पूर्वमाओवादी मन्त्री छन्– इन्द्र आङबो ‘मौसम’ । त्यहीं उपसभामुख छिन् सरस्वती पोखरेल । लुम्बिनी प्रदेशका आन्तरिक मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ र सभामुख पूर्ण घर्ती पनि बादल पक्षधर हुन् ।
यता, राजधानी उपत्यकाभित्र नेकपाको नेतृत्वमा माधव नेपाल समूहभन्दा पूर्वमाओवादी समूह बलियो देखिएको छ । काठमाडौंमा इन्चार्ज छिन् सावित्रा भुसाल । वामदेव पक्षधर उनी अहिले भने माधव पक्षमा खुलेकी । अध्यक्ष कृष्ण राई केपी पक्षधर । काठमाडौंका सचिव हिमाल शर्मा प्रचण्डपक्षीय । ललितपुरका इन्चार्ज हरि दाहाल पूर्वमाओवादी समूहका । त्यहाँका सचिव राजकाजी महर्जन पनि पूर्वमाओवादी ।
त्यसैगरी, उपत्यका इन्चार्ज लीलामणि पोखरेल पूर्वमाओवादी समूहका, सहइन्चार्ज अरुण नेपाल माधवपक्षीय । उपत्यकाको विशेष प्रदेशका अध्यक्ष राजन भट्टराई प्रधानमन्त्रीकै सल्लाहकार भइहाले, सचिव लेखनाथ न्यौपाने पूर्वमाओवादीको पनि बादल समूहका रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।