newskoseli.Com

पार्टी र चुनाव चिह्न कसकाे ? जसको बहुमत उसैको…

सत्ताधारी नेकपाभित्रको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ, त्यही पक्षले नेकपाको नाम, चिह्न र झन्डा पाउने निश्चित छ । दुवै पक्षले केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहेको र सानो समूह मात्रै छुट्टिएको आरोप लगाइरहेका छन् ।

यस्तो बेलामा निर्वाचनमा आयोगमा हुने केन्द्रीय कमिटीका सदस्यहरुको सनाखत नै पार्टीको आधिकारिकताका लागि महत्त्वपूर्ण मानिनेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०६३ ले प्रस्टरुपमा दलको मान्यतासम्बन्धी विवादमा केन्द्रीय समितिको बहुमत रहेको पक्षलाई विवादन उत्पन्न हुनुअघिको दलको मान्यता दिनुपर्ने भनेको छ । त्यसमा निर्वाचन आयोगलाई दायाँबायाँ गर्ने ठाउँ छैन तर विवाद निरुपणका क्रममा आयोगले केन्द्रीय कमिटीको कुन संख्यालाई मान्यता दिन्छ ? नेकपाको भविष्य त्यसैमा निर्भर हुने देखिन्छ ।

४ सय ४१ सदस्यीय वा १ हजार १ सय ९९ सदस्यीयमध्ये नेकपाको कुनचाहिँ केन्द्रीय कमिटीलाई आयोगले मान्यता दिन्छ, नेकपाको हकमा आयोगको त्यही निर्णय महत्त्वपूर्ण हुनेछ । ०७५ जेठ ३ मा पार्टी एकीकरणको समयमा आयोगमा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको अभिलेखीकरण गरिएको छ ।

प्रतिनिधिसभा विघटनको घटना पछाडि नेकपाभित्रको विवादले उग्ररूप लिएपछि पार्टीका दुईमध्ये एक अध्यक्ष प्रधानमन्त्री खड्ग ओलीले केन्द्रीय कमिटी विस्तार गरी १ हजार १ सय ९९ पुर्‍याइएको विवरण आयोगलाई दिएका छन् । पहिलेका बाहेक थपिएका ५ सय ५६ जनाको नाम उनले आयोगमा पुस ८ मा पठाएका छन् । अरू सदस्य मनोनीत गर्न बाँकी राखिएको ओली पक्षले पत्रमार्फत आयोगलाई जानकारी दिएको छ ।

पुष्पकमल दाहाल र माधव नेपाल पक्षको दाबीलाई मान्ने हो भने ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा उक्त पक्षको दुईतिहाइभन्दा बढी बहुमत छ । अहिले आएर ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा स्वाभाविकरूपले ओलीको अपार बहुमत हुने नै भयो । आयोगले केन्द्रीय कमिटीको यकिन संख्याको पहिचान नै पहिले गर्नुपर्छ ।

‘प्रारम्भमा दर्ता भएका बखत कायम रहेको केन्द्रीय कमिटीको संख्या नै पछिसम्म रहन्छ भन्ने हुन्न,’ आयोग स्रोतले भन्यो– ‘पार्टीलाई त्यसमा फेरबदलको अधिकार हुन्छ । त्यसैले नयाँ आएको संख्या मान्य हुन सक्दैन भन्ने होइन ।’ विस्तारित संख्या पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार छ कि छैन, त्यो महत्त्वपूर्ण हुने उक्त स्रोतले बताएकाे खबर राजेश मिश्रको बाइलाइनमाआइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर