अस्पतालभित्रै चर्च स्थापना गरेर हिन्दू र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रुपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।
कारबाही हुनुभन्दा दुई दिन अगावै पत्नी सुशन मोलसहित उनी सोमबार अमेरिका प्रस्थान गरेका हुन् । अस्पतालको वेबसाइटमा उल्लेख भएअनुसार डेल अझै प्रमुख कार्यकारी अधिकृत र पत्नी सुशन सोही अस्पतालकी कर्मचारी हुन् । उनी प्रोजेक्टविज्ञका रुपमा कार्यरत थिइन् ।
डेल दम्पती सन् २०१५ डिसेम्बरदेखि अस्पतालमा कार्यरत थिए । शिर मेमोरियल अस्पताल सन् १९६० देखि अमेरिकी नागरिक चार्ल्स जे शिर र उनकी पत्नी क्यारोलिनका नाममा स्थापना भएको थियो । यो अस्पताल अमेरिकास्थित सेभेन्थ डे एडभेन्टिस्ट चर्चको सहयोगमा खोलिएको थियो ।
गृह मन्त्रालयबाट भइरहेको आन्तरिक अनुसन्धान र त्यसपछि पक्राउ पर्न सक्ने सुइँको पाएपछि पत्नीसहित नेपाल छाडेर उनी भागेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।