कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने गरी नेपालमा विकासका काम भएको’ बताएका छन् । नेकपाको ओली गुटका कार्यकर्ताको भेलालाई शनिबार सम्बोधन गर्दै ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि ओलीले अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । उनको भाषणलाई तथ्यले सहयोग गरेका छैनन् ।
प्रधानमन्त्रीको दाबीः वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) चलाएका छौं । चाँदनी दोधारामा पनि चलाउँदै छौं ।
वास्तविकताः भारतको लगानीमा १० वर्षअघि तत्कालीन प्रधानमन्त्री माधव नेपालका पालामा सुरु भएको हो यो आयोजना, तर चाँदनी दोधारामा आईसीपी निर्माणको योजना समेत छैन ।
प्रधानमन्त्रीको दाबीः बुटवल–नारायणगढ सडक खण्ड ६ लेनको बन्दै छ ।
वास्तविकताः अहिले २ लेन रहेको सडकलाई ४ लेनमा विस्तार गर्ने योजना, २ वर्षमा २ प्रतिशत मात्रै प्रगति ।
प्रधानमन्त्रीको दाबीः भुइँचालोले भत्काएका सात लाख घर बनाएर जनतालाई हस्तान्तरण गरिएको छ ।
वास्तविकताः हालसम्म ५ लाख ५९ हजार घर निर्माण, सरकारले दिएको जम्मा ३ लाख रूपैयाँले घरका जग मात्रै बन्छन् । पूर्ण घर सरकारले बनाइदिएको होइन, त्यसैले घर हस्तान्तरणसम्बन्धी कुनै कार्यक्रम भएनन् । यो आयोजना पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पाला सुरु भएको हो ।
प्रधानमन्त्रीको दाबीः रक्सौल र केरुङका रेल आउँदै छन् ।
वास्तविकताः केरुङतर्फको रेलको प्रारम्भिक सम्भाव्यता अध्ययन समेत भएको छैन । अध्ययन गर्न आउने भनिएको चिनियाँ टोली नै आएको छैन । यता मात्र होइन, उता केरुङसम्मै रेल आउने समेत अहिलेसम्म निश्चित छैन । रक्सौलको रेलबारे पनि अझै डीपीआर अध्ययन समेत सुरु भएको छैन ।
प्रधानमन्त्रीको दाबीः हुलाकी राजमार्गको चर्चा धेरैले गरे, हामीले राजमार्ग बनायौं ।
वास्तविकताः प्रधानमन्त्रीले भनेजस्तै यो राजमार्ग बनेको छैन, खासमा आधा काम पनि भएको छैन । निर्माणको सुरुआत पनि अहिले होइन, १२ वर्षअघि भएको हो, काम अहिले पनि सुस्त छ । कतिपय ठाउँका कच्ची बाटोमा धुलो उडाउँदै बस गुड्छन् । प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि हुलाकी राजमार्गका एक दर्जन पुल अलपत्र छन् ।
स्थायी सरकार, विकास र समृद्धिको नारा दिएर गफैगफ र झुटैझुटमा जनता ठग्दै आएका वर्तमान काउचलाउ प्रधानमन्त्री खड्ग ओलीका पछिल्ला झुटबारेको यो खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।