newskoseli.Com

प्रचण्ड–ओलीलाई आयोगले पठायो बेग्लाबेग्लै पत्र : के छ व्यहोरा ?

निर्वाचन आयोगले नेकपाको ओली पक्षलाई अवधि नतोकीकनै र प्रचण्ड–माधव पक्षलाई सात दिनभित्र लिखित जवाफ दिनू भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताका विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएका दुई पत्रमा फरक–फरक अवधि तोकिएको हो ।

प्रचण्ड–माधव पक्षलाई पठाइएको पत्रमा लिखित जवाफ दिनका लागि सात दिन म्याद दिइएको छ भने ओली पक्षलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको पाइएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद– ९ अनुसार आयोगले आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । प्रचण्ड–नेपाल पक्षलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद– ९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ ।

ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको मात्र उल्लेख गरिएको छ । प्रचण्ड–नेपाल पक्षलाई जसरी सात दिनभित्र जवाफ दिन ओली पक्षलाई भनिएको छैन ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई उद्धृत गर्दै केपी शर्मा ओलीलाई पठाएको पत्रमा भनिएको छ– ‘ऐनको दफा ४४ को उपदफा (१) ले दफा ४३ बमोजिम दलको नाम, छाप झण्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिह्न दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था रहेको बेहोराको जानकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई गराउने निर्णय भएको बेहोरा अनुरोध छ ।’

आयोगले प्रचण्डलाई लेखेको पत्रमा भने ७ दिने म्यादै तोकेर भनिएको छ– ‘ऐनको दफा ४४ को उपदफा १ ले दफा ४३ बमोजिम दलको नाम, छाप झण्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिह्न दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्थाबमोजिम विवाद निरुपणमा दाबीसहित सम्बन्धित पक्ष आएको अवस्थामा मात्र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद– ९ बमोजिम आयोगले कारबाही गर्न सक्ने हुँदा सोको जानकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गराई आयोगद्वारा प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ (सात) दिनभित्र आयोगलाई जवाफ उपलब्ध गराई सहयोग पुर्‍याइदिन अनुरोध गर्ने निर्णय भएको बेहोरा अनुरोध छ ।’

नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले दुई पक्षलाई पठाएको पत्रसम्बन्धी यो खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर