नेकपा (दाहाल–नेपाल) पक्षको बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालोको अभ्यास सुरु भएको हो ।
यही अभ्यासअनुरुप आइतबार बसेको स्थायी कमिटीको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरे । यसअगाडि पुस ७ र ९ मा बसेका स्थायी कमिटीका बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए । पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल पक्षको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ ।
जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटीको बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी कमिटीकी सदस्य पम्फा भुसालले बताइन् । कार्यदलमा स्थायी कमिटीका सदस्यहरू गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र शक्तिबहादुर बस्नेत सदस्य छन् ।
यो कार्यदलले सात दिनभित्र गृहकार्य गरी प्रस्ताव तयार पार्नेछ । ‘सकेसम्म छिटो गर्ने गरी बढीमा सात दिनभित्र कार्यविभाजन गर्ने गरी कार्यादेश तोकिएको छ’– नेतृ भुसालले भनिन् । कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलगायतका नेताहरूको समेत कार्यविभाजन प्रस्ताव तयार पार्नेछ । एकीकरण र एकताका बाँकी काम टुंग्याउने गरी कार्यदलमार्फत प्रस्ताव बनाइने भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।