newskoseli.Com

‘ओली प्रवृत्ति’ विरुद्ध संयुक्त आन्दोलन गराैं : दलहरूसँग प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न नेपालले यस्तो प्रस्ताव गरेका हुन् ।

राजधानीको बानेश्वरमा बुधबार आयोजित अन्तर्पार्टी अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री ओलीमा सत्ता उन्माद चढेको र यसैकारण उनले गरेको संवैधानिक ‘कु’ को विरोधमा सबै राजनीतिक दलले मिलेर आन्दोलन गर्नुपर्ने अध्यक्ष नेपालले बताए । प्रधानमन्त्री ओलीले सिंगो व्यवस्थाविरूद्ध कदम चालेको आरोप लगाउँदै उनले भने– ‘केपी ओलीमा सत्ता उन्माद छ, त्यसैले उनले सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी–समानुपातिक व्यवस्थाविरुद्धको कदम चाले ।’

संघीयता, गणतन्त्र, समावेशी–समानुपातिक व्यवस्थालाई कुनै हालतमा पनि संकटमा पर्न र संशोधन गर्न नदिने नेपालले बताए । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको उल्लेख गर्दै संविधानविरोधी कदम अदालतले खारेज गरिदिने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्री ओली र प्रतिनिधिसभा विघटनकोे विरोधमा सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–नेपाल पक्षले विभिन्न राजनीतिक दलसँग सामूहिक अन्तर्क्रिया गरेको हो ।

प्रचण्ड–नेपाल पक्षद्वारा गठित केन्द्रीय संघर्ष समितिको आयोजनामा ‘प्रतिनिधिसभा विघटन र राजनीतिक कु’ नामक अन्तर्क्रिया राखिएको थियो । अन्तर्क्रियामा सहभागी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि गएर ‘कु’ गरेको बताए ।

प्रधानमन्त्रीले संविधान र व्यवस्थामाथि नै ‘कु’ गरेको डा. भट्टराईले तर्क गरे । प्रधानमन्त्री ओलीले गरेको ‘कु’ २०१७ मा राजा महेन्द्र र २०६०–६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कु’ जस्तै भएको उनले बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर