प्रधानमन्त्री खड्ग ओलीले पुस ५ मा हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगै देश सो कदमको विपक्षमा उभिएको छ । मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायधीशहरू, नागरिक अगुवा, कानुन व्यवसायी, जनजाति अगुवासहित मुलुकका सबैजसो पेसा–व्यवसायका नागरिक संसद् विघटनको विपक्षमा उभिएका हुन् ।
ओलीले संसद् विघटन गरेपछि उनकै अध्यक्षतामा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै बहुमत नेता–कार्यकर्ता उनको गुटबाट अलग भएका छन् । एउटा समूह सत्तामा रहँदा अर्को समूह सडक संघर्षमा छ । यहीबेला नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटनले प्रतिगमनलाई निम्तो दिएको ठहर गरेका छन् । पाण्डे र पहाडीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली प्रतिगमनका लागि औजार हुन पुगेको स्पष्ट पारेका हुन् ।
ओलीको संवैधानिक ‘कु’ विरुद्ध नागरिक अगुवाहरूले माइतीघर मण्डललगायत विभन्न स्थानमा रचनात्मक र सिर्जनात्मक आन्दोलन गरिरहेका छन् । ओली समूहलाई अलग राखेर छुट्टै आन्दोलनका कार्यक्रम गरिरहेको नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरू पनि आन्दोलनमा छन् । ती दलले अलग–अलगरूपमा देशभर आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।
राजनीतिक दलहरूले आन्दोलनको कार्यक्रम गरिरहेका बेला नागरिक अगुवाहरूसँग अन्तर्क्रिया र रायसुझाव समेत लिइरहेका छन् । साथै, दलहरूले संसदमा सहभागी भएका र संसदबाहिर रहेका दलहरूसँग समेत औपचारिकरूपमा अन्तर्क्रिया गर्ने र संयुक्त आन्दोलनका विषयमा छलफल गर्ने क्रम समेत अघि बढाएका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नागरिक अगुवा कृष्ण पहाडी, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानवअधिकारकर्मी मोहना अन्सारी, राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिव लीलामणि पौडेल, सम्पादकहरू, लेखकहरू पनि ओलीको ‘कु’ विरूद्ध आन्दोलनमा उत्रेका छन् ।
नागरिक अगुवाहरूले देशभर नै आन्दोलन गरिरहेका बेला सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायधीशहरूले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरेर संसद् विघटन संविधानविपरीत रहेको बताइसकेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।
यसैबीच, आइतबार राजधानी काठमाडौ, धनगढीलगायत देशका विभिन्न भागमा बयलगाडा जुलुस निकालेर ओलीको प्रतिगामी कदमविरूद्ध व्यंग्यात्मक एवं सांकेतिक प्रदर्शन समते गरियो । लोकतान्त्रिक आन्दोलनका बेला त्यसको विरोध गर्दै ओलीले ‘बयलगाडा चढेर अमेरिका पुग्नु र जनयुद्ध तथा जनआन्दोलनका माध्यमबाट गणतन्त्र आउनु उस्तै कुरा हो’ भनेका थिए । त्यसैकारण ओलीको प्रतिगमनकारी चरित्रलाई चित्रित गर्नुपर्दा ‘बयलगाडा’ शब्दावलीको स्मरण र प्रयोग हुने गरेको छ ।