newskoseli.Com

राजनीति सकिएका र नांगिएकाहरुको दावी : ‘जनतामा निराशा हटाउन ताजा जनादेश’

पटक–पटक सत्तामा पुगेर चरम भ्रष्टाचारको आरोप लागेका, जनतामा विश्वास गुमाएका र अनेकौं प्रतिक्रान्तिकारी, ढाँटछलपूर्ण, फुटपरस्त र विवादास्पद राजनीतिक व्यवहारका कारण राजनीति गर्ने नैतिकता गुमाइसकेका केही व्यक्तिहरूले ‘जनतामा निराशा हटाउन ताजा जनादेशमा जान थालिएको’ दावी गरेका छन् ।

‘संविधान कमजोर बनाउने षडयन्त्रविरुद्ध जनतासमक्ष’ : पोखरेल र प्रभु

खड्ग ओली नेतृत्वको वर्तमान कामचलाउ सरकारका विनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजेको दावी गरेका छन् । ओली गुटको बारा जिल्ला कमिटीद्वारा सोमबार कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै संविधान कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा सो षडयन्त्रविरुद्ध आफूहरू जनतासमक्ष जान तयार भएको उपप्रधानमन्त्री पोखरेलले दावी गरे ।

प्रधानमन्त्रीले मुलुकमा नयाँ नेतृत्व ल्याउन खोजेपछि नेकपाका केही नेतालाई सह्य नभएको उनले बताए । महामारीका कारण सीमा आसपासका जनता निराश बनेको चर्चा गर्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर बाराको मटिअर्वा र सिम्रौनगढको नाका खोल्ने आश्वासन समेत उनले दिए ।

सोही कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री प्रभु साहले अब निर्वाचन कसैले रोक्न नसक्ने दाबी गरे । निर्वाचनको तयारीमा जुट्न समेत उनले जनतामा आह्वान गरे । उक्त कार्यक्रममा ओली गुटको प्रदेश– २ का इन्चार्ज एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेकपाका केही नेताले आफ्नो स्वार्थ र पदका लागि नेपाललाई असफल राष्ट्र बनाउन खोजेको आरोप लगाए ।

रायमाझीको दावी : ‘संसद् पुनर्स्थापनाको माग पश्चगामी सोच’

कामचलाउ सरकारकै ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री खड्ग ओलीले अग्रगामी सोच राखेर ताजा जनादेशमा जाने कदम उठाएको दावी गरेका छन् । पूर्वी नवलपरासी र तनहुँमा सोमबार आयोजित ओली गुटका कार्यक्रममा बोल्दै रायमाझीले संसद् पुनर्स्थापना गर्नुपर्छ भन्नु पश्चगामी सोच भएको उल्लेख गरे । ‘निर्वाचनमा जाने कुरा अहिलेको व्यवस्था बचाउन चालिएको कदम भएकाले प्रधानमन्त्री ओलीको सोच अग्रगामी हो,’ रायमाझीले भने– ‘संसद् पुनर्स्थापनाको माग पश्चगामी सोच हो ।’

आफ्नै पार्टीका सांसदले विपक्षीसँग मिली सरकार ढालेर देशमा अस्थिरता ल्याउनका निम्ति गरेको षडयन्त्रलाई परास्त गर्न प्रतिनिधि सभा विघटन गर्नु परेको रायमाझीले बताए । प्रतिनिधिसभामा बहुमत प्राप्त आफ्नै दलका नेतालाई काम गर्न नदिने वातावरण तयार पार्ने समूहले भोलि अर्को सरकार बन्नै नसक्ने अवस्था निर्माण गर्न खोजिरहेको भन्दै त्यस्तो अराजकतालाई रोक्न र ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गर्नुपरेको दावी उनले गरे ।

ठाकुरको विरोधाभाष : ‘जसपा चुनावमा जान तयार छ’

ओलीको कदमलाई संविधानमाथिको हमला र प्रतिक्रान्तिको संज्ञा दिँदै सबैभन्दा पहिले सडक संघर्षमा उत्रेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दुईजिब्रो, अवसरवादी र विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका छन् । सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले निरन्तर कडा अभिव्यक्ति दिइरहेकै बेला ठाकुरले भने ‘चुनावमा जानुपरे आफ्नो पार्टी तयार रहेको’ जिकिर गरे ।

प्रेस नेपालले सोमबार भैरहवामा गरेको पत्रकार भेटघाटमा बोल्दै आफ्नो पार्टी अदालतको नतिजा ‘पर्ख र हेर’ को अवस्थामा रहेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नभए चुनावका लागि तयार रहेको अध्यक्ष ठाकुरले बताए । ‘अदालतबाट संसद् पुनर्स्थापना नभएर चुनावमा जानुपरे हाम्रो पार्टी तयार छ, हामी पर्ख र हेरको स्थितिमा छौं’– ठाकुरले भने ।

‘ताजा जनादेश उत्तम विकल्प’ : थापा

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गरी प्रतिक्रान्ति गर्न खड्ग ओली, शेरबहादुर देउवा, कमल थापालगायतका प्रतिक्रान्तिकारी तत्त्वहरूबीचको आन्तरिक मिलेमतो र षड्यन्त्रमा ओलीले प्रतिगामी कदम चालेको चर्चा चलिरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले त्यसैलाई पुष्टि गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

पृथ्वी जयन्तीका अवसरमा सोमबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै ‘चुनाव घोषणा भइसकेको अवस्थामा नयाँ जनादेशमा जानु नै उत्तम विकल्प’ भएको थापाले बताए । सरकार र नेकपाको आन्तरिक विवादले मुलुक बन्धक बन्न सक्दैन भन्दै नयाँ जनादेशमा जानु राम्रो विकल्प भएको उनले दावी गरे ।

–मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचारमा आधारित ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर