newskoseli.Com

‘फरार’ सूचीका कालिबहादुर सुटुक्क बालुवाटार !

प्रधानमन्त्री ओली र पूर्वकमान्डर खामको फाइल तस्बिर ।

प्रहरीको ‘फरार सूची’ मा रहेका जनमुक्ति सेनाका पूर्वकमान्डर कालिबहादुर खाम ‘विविध’ ले एक साताअघि प्रधानमन्त्री खड्ग ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी ‘शान्ति प्रक्रिया’ पछि विभिन्न ‘अपराध’ का मुद्दामा ‘फरार’ थिए ।

गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका खामले ओलीसमक्ष आफ्ना माग तेर्स्याएर कामचलाउ प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जुटाउने वचन दिए र थप जिम्मेवारीसहित पश्चिम नेपालतिर हिँडे । प्रधानमन्त्रीसमक्ष चार वटा माग राखेर अहिलेको अवस्थामा ‘द्वन्द्वपीडित’ को मन तान्न सकिने र पूर्वमाओवादीलाई आफ्नो खेमामा कस्न सकिने आश्वासन उनले दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्रीसँग कुरा गर्दै जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई प्रतिपरिवार एक लाख रूपैयाँ थप्न खामले माग गरेका छन् । यसले गर्दा यसअघि प्रतिपरिवार १० लाख पाइसकेका पीडितका आफन्त वर्तमान सरकारप्रति आकर्षित हुने उनको आँकलन छ । त्यसैगरी जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने खामको अर्को माग छ । जनमुक्ति सेना नेपालका सबै कमान्डर सदस्यहरूलाई राष्ट्रिय मान्यता प्राप्त मुक्ति सेनाको परिचयपत्र दिन तथा जनआन्दोलन र जनयुद्धताकाका मुद्दा निःशर्त खारेज गरी बन्दीहरूको निःशर्त रिहाइ गर्न समेत उनले माग राखेका छन् ।

‘प्रचण्डलाई उतिबेला कयौंचोटि भनेको हुँ, केही गरेनन् । हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुपर्‍यो,’ यति भनेका खामलाई प्रधानमन्त्रीले– ‘यसमा म पहिलेदेखि नै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको स्रोतले बताएको छ । ‘त्यसपछि अहिले उहाँ पूर्वमाओवादी र जनमुक्ति सेनाको भेला गर्दै पश्चिम क्षेत्रमा हिँडिरहनु भएको छ,’ स्रोत भन्छ– ‘उहाँका मागहरू पूरा भएको खण्डमा जस्तोसुकै जिम्मेवारी लिन तयार हुनुहुन्छ ।’

खामले प्रधानमन्त्रीसँग यी कुरा राखेको चाल पाएका जनयुद्धका घाइते र केही पूर्वलडाकुले समेत उनलाई साथ दिन थालेका छन् । चितवनको शक्तिखोर शिविरमा मारिएका भनिएका व्यापारी रामहरि श्रेष्ठको हत्याअन्तर्गत ‘फरार’ रहेका खाममाथि अरू पनि मुद्दा छन् । उनी त्यतिबेला शिविरको डिभिजन कमान्डर थिए ।

उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी–डकैती र हातहतियार–खरखजनासम्बन्धी मुद्दा समेत छन् । रुकुम पूर्वको मगर वस्तीमा उनको राम्रो प्रभाव रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर