अब निर्वाचनकेन्द्रित माहोल बनाएर जानु पर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले जोड दिएको छ । आफ्नो पक्षमा आहिलेसम्म आधारभूत तहसम्मै ‘सोचिएभन्दा राम्रो हुँदै गाएको’ सो समूहको विश्लेषण छ ।
बिहीबार बालुवाटारमा बसेको सो समूहको स्थायी कमिटीको बैठकमा प्रतिनिधिसभा ‘विघटन’ पछि आफ्नो पक्षमा देशव्यापीरुपमा भएका संगठन सुदृढीकरण र जनसभाबारे समीक्षा भएको उक्त समूहका नेता केशव बडालले जानकारी दिए । बैठकमा प्रधानमन्त्री खड्ग ओलीले यसबीच अहिलेसम्म भएका वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए ।
सदस्यहरुले पनि आ–आफ्नो ब्रिफिङ गरेका थिए । बैठकले ‘माथिल्लो तहका नेता मात्र दाहाल–नेपाल खेमामा गएकाले संगठनात्मक क्षेत्रमा खास ठूलो क्षति नपुगेको’ निष्कर्ष निकालेको छ । सबै नेता–कार्यकर्तालाई निर्वाचन कार्यक्रम र कार्ययोजना बनाउन कामचलाउ प्रधानमन्त्री ओलीले निर्देशन गरेका छन् ।
संगठनात्मक अभियान ‘आक्रामक’ बनाउने र ‘चुनावी अभियान’ चलाउने गरी मेची–महाकाली आधार तयार पारेर अगाडि बढ्न उनले सुझाव दिएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।