आफू सामूहिक बलात्कार परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले तीन दिनअघि प्रहरीसमक्ष रोइकराइ गरिन् । आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई उनले बताएकी थिइन् ।
युवतीको उजुरीपछि प्रहरी लाग्यो पीडकको खोजीमा । तर, कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएकी युवतीलाई नै प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । जबरजस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा उनीहरुमाथि मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।
युवती पुस २८ मा इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै पीडितलाई जिल्ला प्रहरीमा पठायो ।
‘म ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटामा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए, अनि दुईतले घरमा लगेर रातभर बलात्कार गरे’– प्रहरीलाई उनले बताएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।