चरम अल्पमतमा परेका र पार्टीले जिम्मेवारी नै खोसिसकेका कामचलाउ सरकारका प्रधानमन्त्री खड्ग ओलीले आफ्नै गुटले तयार पारेको अनधिकृत विधानका व्यवस्थाहरूका आधारमा बलजफ्तीरूपले पार्टीको आधिकारिकता र चुनाव चिह्न हत्याउने प्रयास गरिरहेको खुलासा भएको छ ।
अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एकथरी र नेकपाको ओली समूहले आयोगमा पत्राचार गर्दा अर्कोथरी विधान प्रयोग भएको देखिएको छ । आयोग र ओली समूहले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् । कतिपय धारा भने प्रचण्ड–माधव नेपाल पक्षले प्रयोग गरेको विधानसँग समेत मेल खाँदैनन् ।
आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ । दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ । आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ ।
निर्वाचन आयोगले प्रयोग गरेको विधानमाथि ओली समूहका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री खड्ग ओली नेतृत्वको समूहले प्रश्न उठाएको छ । उक्त पक्षले बुधबार आयोगलाई पठाएको पत्रमा विधानको आधिकारिताको विषय उल्लेख छ । पत्रमा भनिएको छ– ‘आयोगले पत्रमा उल्लेख गरेको विधानको व्यवस्था र पार्टीको विद्यमान विधानका व्यवस्था फरक छन् ।’
पार्टीको आधिकारिक विधानका आधारमा आयोगले पत्राचार गर्नुपर्नेतर्फ भन्दै ओली पक्षले आयोगको ‘ध्यानाकर्षण’ समेत गराएको छ । आयोगले भने एकीकरणका बेला पार्टीका तर्फबाट बुझाइएको विधानकै धारा प्रयोग गरेर पत्राचार गरिएको जनाएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।