प्रतिनिधिसभा ‘विघटन’ पछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिव १ लाख संख्याभन्दा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।
प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदानस्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।
खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखभन्दा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको छ । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको खबर महेश्वर गौतमको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।