प्रधानमन्त्री खड्ग ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् । संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् ‘विघटन’ भए पनि अग्निप्रसाद सापकोटा भने सभामुख पदमा कायमै छन् ।
अहिलेको अवस्थामा सभामुख सापकोटालाई निकै चुनौती थपिएको छ । आगामी वैशाखमा निर्वाचन पनि भएन र अदालतले प्रतिनिधिसभा पुनर्स्थापना हुनेगरी फैसला पनि गरेन भने संसदको बैठक बोलाउन सभामुख सापकोटालाई चौतर्फी दबाव पर्न सक्ने अनुमान गरिएको छ । त्यो अवस्थामा नेकपाको प्रचण्ड–माधव पक्ष, जसपा, नागरिक समाजलागयतले त्यस किसिमको दबाब दिन सक्ने देखिएको स्रोतले बतायो ।
सभामुखले संसदको बैठक बोलाउने अनि कामचलाउ सरकारले संकटकाल लगाउने स्थिति आएमा मुलुकमा झन् बढी राजनीतिक टकराव र अस्थिरताको अवस्था आउने देखिन्छ । त्यो स्थितिमा सभामुख सापकोटाले राजीनामा दिन पनि सक्नेछन् । राजनीतिक अवस्था झनझन् संकटमा धकेलिँदै गए पनि सभामुखले राजीनमा दिने बाटो भने खुलै रहेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।