दोस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको सपथमा खड्ग ओलीले भने– ‘म देश र जनताका नाममा सपथ लिन्छु ।’ अर्थात्, उनले ‘ईश्वर’ शब्द हटाएर सपथ लिए ।
‘भगवान्’ को साटो ‘देश र जनता’ का नाममा सपथ खाएका उनै कामचलाउ प्रधानमन्त्री ओली सोमबार सबेरै पत्नी राधिका शाक्य, सहयोगी र सुरक्षाकर्मीसहित पशुपतिनाथको मन्दिरमा पुगे अनि ‘ईश्वरका नाममा’ सवा लाख दीप प्रज्वलन गरे र ‘विश्व शान्ति र राष्ट्र कल्याणको संकल्प पूजा’ गरे । उनले पशुपति क्षेत्रभित्र झन्डै एक घन्टा बिताए ।
‘ईश्वर’ का नाममा सपथ समेत नलिने ‘साम्यवादी’ धङधङी बोकेका प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए होलान् ? अर्कातर्फ, उनै ओलीले आफ्नो पूर्वमान्यताविपरीत शनिबार मात्रै माओवादी जनयुद्धका जनमुक्ति सेनाहरूलाई भेटेर ‘वर्गीय विभेद अन्त्यका लागि एकजुट हुनुपर्ने’ समेत बताउन भ्याए ।
एउटा ठूलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले छिमेकी भारतमा भने ‘धार्मिक राजनीति’ फस्टाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि मठ–मन्दिर जाने र ‘पूजाआजा’ गर्ने चलन अरू बढाएका छन् । के त्यसैको सिको हुन थालेको हो यता पनि ?
‘राजनीतिज्ञका रूपमा हेर्दा हिन्दू धर्मावलम्बीहरूको ठूलो समूह छ, भौतिक उपस्थितिले नै त्यसलाई सम्बोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई लागेको हुन सक्छ,’ विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले भने– ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्री पशुपति गएर ‘संकल्प पूजा’ गरेको यो एउटा अनौठो घटना हो र यो सेन्सेटिभ कुरा पनि हो । यो घटनाबाट एक खालका मान्छेहरू खुसी भएका छन् ।’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल भने यी दुवै कुरामा त्यति धेरै अर्थ खोज्नु नहुने बताउँछन् । ‘पशुपतिमा पुगेर प्रधानमन्त्रीज्यूले त्यहाँको निर्माणबारे जानकारी लिनुभएको हो’– रिमालले भनेको खबर बिनु सुवेदीकाे बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।