कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पुस १५ मा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक–पटक संवाद भइसकेको छ ।
खाम माओवादीका पूर्वलडाकु मात्रै हुन्थे भने ओलीले उनलाई सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो । तर, माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखमा कोटेश्वर, काठमाडौंका रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति हुन्, खाम । अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ । उनले प्रधानमन्त्री ओलीको नेकपामा समाहित हुन आफू र आफ्ना साथीहरूविरुद्ध लागेका मुद्दा फिर्ता हुनुपर्ने सर्त राखेका छन्, यसमा ओली पक्ष र खामको वार्ता निष्कर्षमा पुगिसकेको छैन ।
रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपूजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ को निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । रातो पासपोर्ट काण्डमा दोषी रहेको भन्दै अन्तिम समयमा निर्वाचन आयोगले उम्मेदवारी रद्द गरिदिएपछि उनी उठ्न पाएनन् । उनै राय अहिले ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।
दुई साताअघि सर्लाही जाँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले रायमाथि लागेको मुद्दा खारेज गराएरै छाड्ने प्रतिबद्धता मञ्चबाटै व्यक्त गरे । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई पनि उपप्रधानमन्त्री पोखरेलले माघ १३ मा फूलमाला लगाएर पार्टी प्रवेश गराए ।
यादवसँगै तत्कालीन भूमिगत सशस्त्र समूहका अरू कार्यकर्तालाई पनि पोखरेलले पार्टीमा स्वागत गरे । यादव आफूमाथि लागेको मुद्दा फिर्ता हुने अपेक्षामा ओली नेतृत्वको नेकपा प्रवेश गरेका हुन् । गौर हत्याकाण्डमा दोषी किटान भएका र विभिन्न आपराधिक गतिविधिमा संलग्न भन्दै नेपाल र भारतमा समेत दर्जनौं मुद्दा खेपिरहेका बबनसिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल बसेर २०७५ मा सरकारबाट माफी पाएपछि जेलमुक्त भएका बालकृष्ण ढुंगेल पनि अहिले ओली समूहले गर्ने कार्यक्रममा झुल्किन्छन् ।
संयुक्तरूपमा रहँदा आफ्नै सहयात्रीहरूले असहयोग गरेको भन्दै ‘एक्लै दुईतिहाइ ल्याउने लक्ष्यसहित प्रतिनिधिसभा विघटन गरेको हुँ’ भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो दौडाहा त्यसैमा केन्द्रित छ । पशुपतिमा पुगेर धार्मिक सद्भाव बटुल्ने प्रयास, पूर्वमान्यताविपरीत पूर्वलडाकुहरूको मन जित्ने कोसिस र आपराधिक–विवादित पृष्ठभूमि भएका व्यक्तिहरूलाई धमाधम पार्टीमा भित्र्याउनुको अन्तर्यमा जसरी पनि आफूलाई बलियो देखाउने प्रयास लुकेको खबर बिनु सुवेदीको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।