खड्ग ओली नेतृत्वको वर्तमान कामचलाउ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ ।
सत्ताधारी नेकपा विभाजनका गतिविधि अघि बढ्दै गर्दा कामचलाउ प्रधानमन्त्री ओली भने विप्लव नेकपालाई ‘शान्तिपूर्ण राजनीतिको मूल धार’ मा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् । ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना पुर्याइसकेको छ ।
त्यसका लागि सरकारले आफूनिकट विभिन्न समूहलाई परिचालन समेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने पनि तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार सरकारले विप्लव नेकपामाथि लगाएको ‘प्रतिवन्ध’ समेत फुकुवा गर्ने तयारी गरिरहेको खबर महेश्वर गौतमको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।