सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित भएका छन् । आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाइँ भएकाले ‘नातावाद’ लाई प्रश्रय दिएको आरोप उनीमाथि लागेको हो ।
बहिनी मेनका पोखरेललाई लुम्बिनी प्रदेश विकास परिषद् आयोगको सदस्यमा नियुक्त गरिएको छ भने उनलाई नेकपाको खड्ग ओली समूहको केन्द्रीय सदस्य समेत बनाइएको छ । मुख्यमन्त्री पोखरेलका दाजु देवी पोखरेल ओली समूहको घोराही उपमहानगर इन्चार्ज तोकिएका छन् ।
मुख्यमन्त्री पोखरेलकी श्रीमती सुजिता शाक्य विघटित प्रतिनिधिसभा सदस्य थिइन् । ‘आफूलाई कम्युनिस्टको ठूलो नेता भन्न रुचाउने पोखरेलले राजनीतिक लाभ आफू र आफ्नालाई मात्रै दिलाएर कस्तो कम्युनिस्ट राजनीति गर्नुभएको हो ?’ नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरी प्रश्न गर्छन् ।
पोखरेलको यो ‘रजगज’ को प्रमुख स्रोत उनले पाएको मुख्यमन्त्री पद नै हो । सभामुख पदबाट राजीनामा दिन बाध्य गराइएका कृष्णबहादुर महराको राजनीतिक ‘करिअर’ माथि अनेकन प्रश्न उब्जाइए । अनि नेकपाको जिल्ला राजनीतिमा यो काण्डले एकलरूपमा पोखरेल स्थापित भए ।
‘महरामाथि लागेको आरोपले शंकरजीलाई जिल्लामा नेकपाको एकल नेता बन्ने ठूलो अवसर मिल्यो,’ मेटमणि भन्छन्– ‘त्यही कारण पनि पोखरेलजीले आफूअनुकूलका गतिविधि अघि बढाउनुभयो ।’ तर, अदालतबाट सफाइ पाएर पुनः राजनीतिमा आएका महरा पोखरेलको एकल रजगजमा कति ठूला बाधक बन्न सक्लान् ? पोखरेलका लागि यो चुनौतीको विषय हो ।
‘महरा राजनीतिमा पुनः फर्किएपछि पोखरेलको एकल राजनीतिक यात्रामा अवश्य असर परिहाल्छ’– मेटमणि भन्छन् । यति मात्र होइन, कुनै बेलाका आफ्नै पार्टीभित्रका कट्टर प्रतिस्पर्धी युवराज ज्ञवालीको आगमन समेत पोखरेलका लागि बाधक हुन सक्ने खबर देवेन्द्र बस्नेतको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।