नारायणहिटी दरबारको गेटमा मञ्च राखेर आमसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्री खड्ग ओलीमाथि ‘अन्यथा’ टिप्पणी गरिए । केहीअघि मात्र उनले ‘कम्युनिस्ट’ प्रधानमन्त्रीको ‘परम्परा’ तोड्दै पशुपतिनाथको पूजाअर्चना गरेका थिए । सुनको जलहरी बनाउने प्रधानमन्त्रीको घोषणाको विरोध गर्ने परम्परावादीकै कित्ता समेत जन्मिएको थियो । कसैले मुख खोलेरै भन्थे– ’माघ २३ गते दरबारको गेटबाट प्रधानमन्त्रीले धार्मिक विषयमा केही बोल्नेछन् ।’
आफू विभाजित भएर हिँडेको मूल पार्टीलाई ‘थर्काउन’ पूर्वराजाको ढोका छान्नुको भित्री कारणबारेका अनुमान मान्छेपिच्छे फरक–फरक थिए । सबैभन्दा ठूलो कुरा त प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षलाई साविकभन्दा कडै आलोचना गर्ने सबैजसोको अड्कलबाजी थियो ।
तर, भयो ठीक उल्टो । प्रधानमन्त्रीले धर्मको ’ध’ सम्म उच्चारण गरेनन् । पूर्वराजाको पुरानो बिर्ताबाट गणतन्त्रको दीर्घ भविष्यप्रति कडा प्रतिबद्धता जनाए । र, सबैलाई छक्क पार्नेगरी प्रचण्ड–नेपाल पक्षप्रति कटु वचन प्रयोग समेत गरेनन् । जति बोले, सरकार कसरी जनतासम्म छिर्न सक्छ भन्नेमा केन्द्रित भए । ओलीको फेरिएको यो बोलीले राम्रै प्रशंसा बटुलेको चर्चा गर्नेहरू पनि छन् ।
दुई खेमामा विभाजित नेपाल कम्युनिस्ट पार्टीको कुनै एक पक्षबाट सभा–सम्मेलन वा प्रदर्शन हुन लाग्यो भने राजनीतिक गतिरोध अन्त्यका लागि नेतृत्वबाट कस्तो धारणा आउँछ भन्ने अपेक्षा सर्वसाधारणले गर्न छाडिसकेका थिए । कार्यकर्तापंक्तिमा पनि नेताबाट रचनात्मक भूमिकाको सट्टा विपक्षीलाई खुइल्याउन भाषणमा कस्ता शब्द प्रयोग भए र भोलि यही भाषणलाई कसरी भाइरल बनाउन सकिन्छ भन्नेतर्फ मात्रै ध्यान जान थालेको थियो । गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्न समेत हिच्किचाउनुपर्ने किसिमका थिए । \
तर, नेकपाको ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको सभाले भने सर्वसाधारणले अनुमान गरेभन्दा फरक सन्देश दियो । अर्थात्, विपक्षीलाई गालीगलौज गरेर मात्रै ताली पाउन सकिन्छ भन्ने गलत अभ्यासलाई चुनौती दिँदै शालीन र भद्र शैलीमा सभा सम्पन्न भयो । यो सकारात्मक अभ्यासले अन्ततः सभाको गरिमा बढायो ।
विगतमा एकै पार्टीमा रहँदा देउतासरह पुजेका नेतालाई फरक गुटमा लागेकै आधारमा दानवीय व्यवहार गर्दै निम्नस्तरको गालीगलौजमा उत्रने गलत परिपाटी अन्त्यका लागि सभाले सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा सम्पादकीय प्रकाशित छ ।