newskoseli.Com

‘कर्पोरेट मिडिया दलाल हुन्, अपराधपूर्ण समाचार दिइरहेछन्’ : उपप्रधानमन्त्रीको भाषण !

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका शीर्ष नेतामध्येका एक ईश्वर पोखरेलले कर्पोरेट मिडिया हाउसले अपराधपूर्ण समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् । ओली समूहनिकट प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेलालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले कर्पोरेट मिडियालाई दलालको संज्ञा समेत दिएका हुन् ।

‘कर्पोरेट मिडियाका अपराधमूलक कुरा हेर्नुभएको छ कि छै न ? गलत कुरा हाकाहाकी, के नाम लिने, बुझिहाल्नु हुन्छ तपाईंहरू,’ उपप्रधानमन्त्री पोखरेलले भने– ‘कर्पोरेट मिडियाका दलालहरू, ती दलालले दैनिक सम्प्रेषण गरेको समाचार हेर्नोस् त ! गलत कुरा, उल्टा कुरा जनतालाई विषाक्त बनाउने हिसाबले सम्प्रेषण गरेका गर्‍यै छन् ।’

पत्रकारिता ‘अपराधपूर्ण’ भएको गम्भीर आक्षेप लगाए पनि कुन सञ्चार संस्था वा कुन समाचारप्रति उनको यो आरोप हो भन्ने पोखरेलले खुलाएनन् । समग्र पत्रकारितालाई नै सामान्यीकरण गर्दै उनले आफूनिकट पत्रकारहरूसामु आरोप लगाए । कर्पोरेट मिडियाको अपराधमूलक कार्यको विरोधमा उठ्नैपर्ने भन्दै प्रेस संगठनले संगठित ढंगबाट प्रतिवाद गर्नुपर्ने समेत उनले बताए ।

‘गलत सूचना दिएर गलत ढंगले जनतालाई भ्रममा पारेर सयौं कुरा कमजोर बनाउने अपराधपूर्ण क्रियाकलाप हुँदैछ, यसविरुद्ध खबरदारी गर्नु जरुरी छ’– उनले भने । प्रेस संगठन मिसनसँग गाँसिएको संस्था भएको उल्लेख गर्दै औपचारिक रूपमा जनतालाई देखाउने गरी मात्र नभई कार्यकर्ताका हिसाबले (पत्रकारले) आन्दोलन अघि बढाउनुपर्ने उनले बताए ।

‘कर्पोरेट मिडियाले सही कुरालाई गलत भनेर जनतामा पुर्‍याएकाले त्यसलाई सही नै हो भनेर तपाईंहरूले जनतामाझ पुर्‍याउनुपर्छ’– उनले भने । सरकारले राम्रा काम गरेको भए पनि मिडियाले जहिल्यै नराम्रो मात्र देख्ने गरेको पोखरेलको आरोप थियो । प्रेस संगठन गाडिएको खाँबो नभई पुल भएको उल्लेख गर्दै सरकारले तीन वर्षमा गरेका राम्रा काम जनतासमक्ष पुर्‍याउन उनले निर्देशन दिए ।

‘हाम्रा राम्रा काम ओझेलमा परेका छन् । प्रेस संगठनका पत्रकारले समाचार लेख्न सकेनन् । समाचार प्रचार नहुँदा जनताले केपी ओली मान्छे त राम्रो हुन् तर के गरे, के भन्ने बुझाइ छ । ओलीले गरेका राम्रा कामको प्रचार गर्नु आवश्यक छ’– उनले भनेको खबर प्रतीक्षा काफ्लेको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर