१० वर्षीया सविता, ९ वर्षीया सुनिता र ५ वर्षीया रमिला एकै परिवारका ‘टुहुरा’ दिदीबहिनी हुन् । फुसले छाएको घर भत्कने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् ।
जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओछ्याउने कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथाजस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका– ८, न्वादेउका तीनजना ‘टुहुरा’ दलित बालिकाको हो ।
विपन्न दलित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शालिभान नेपालीको उपचारकै अभावमा तीन वर्षअघि मृत्यु भयो । रोगी आमा अन्नपात माग्दै गाउँ डुल्न जान्छिन् । गाउँमा अन्नपात माग्न गएकी आमा फर्कन ढिलो भएपछि ५ वर्षीया कान्छी छोरी रमिलाले भोक थाम्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।
‘दलित’ भएकै कारण अन्य समुदायका मानिसले बालिकालाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । कहिलेकहीं एक–दुई गाँस खान दिए पनि सहारा दिनचाहिँ कोही पनि अघिसरेका छैनन् ।
फुसले छाएको घर पोहोर साल भत्केपछि आफ्नै पहलमा मर्मत गरिदिएको स्थानीय गोरे बोहराले बताए । कपडा सिलाएर बालबच्चा पाल्दै आएका शालिभानको मृत्यु भएपछि परिवारको बिचल्ली भएको बोहरा बताउँछन् । जग्गा–जमिन केही छैन ।
आमाले गाउँ–गाउँ डुलेर मागेको अन्नले कहिलेकहीं छाक टार्ने गरेका छन् । उनी पनि काम गर्न सक्ने अवस्थामा नभएको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
+++ +++ +++
‘जनता’, ‘गरिब’, ‘असहाय’ र ‘सर्वहारा’ का नाममा राजनीति गर्नेहरुको देशभर बिगबिगी छ । यिनै र यस्तैका नाममा देश–विदेशबाट रकम तथा जिन्सी बटुल्ने र आफ्नै दुनो सोझ्याउने ‘समाजसेवी’ संस्था र व्यक्तिहरु पनि यहाँ बग्रेल्ती नै छन् ।
‘मेरो शासनकालमा कोही भोकै छैन र रहँदैन’ भन्दै डुक्रिइरहेका प्रधानमन्त्री खड्ग ओलीका ध्वाँसको त झन् के कुरा गर्नु ! आज नेपाल कस्तो छ अनि हामी विकास, समृद्धि र प्रगतिको कुन चरणमा पुगेका छौं भन्ने कुरा थाहा पाउन ‘भोक लाग्दा माटो खान’ विवश यिनै बालिकालाई हेरे पुग्दैन र ?